झापा,साउन ५ । सोलुखुम्बुमा सञ्चालित तल्लो सोलु जलविद्युत् परियोजनाद्वारा प्रवद्र्धित ८२ मेगाबाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।


सन् २०१७ बाट निर्माण सुरु गरिएको जलविद्युत् आयोजना साउन ४ गते आइतबारबाट उत्पादन सुरु गरी परीक्षणको लागि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्ला र वडा नम्बर ७ गार्माको सिमानामा पर्ने साल्मेमा बाँधस्थल राखी त्यसको ६ दशमलव २ किमि टाढा रहेको तिङ्ला भदौरेमा रहेको पावर हाउसमा सुरुङ मार्गमार्फत पानी खसालेर विद्युत् उत्पादन गरिएको छ ।
सोलुखोलाको पानीबाट रन अफ द रिभर पद्धतीबाट विद्युत् उत्पादनका लागि आयोजनाले ४ दशमलव २ किमि सुरुङ मार्ग र २ किलोमिटर भूमिगत पाइपलाइन विस्तार गरेर भदौरेमा पानी खसालेको छ ।
नेदरल्याण्ड्सको एफएमओ बैंकको करिब १७ अर्ब ऋण लगानीमा निर्माण सम्पन्न भएको परियोजनाबाट वर्षायाममा ८२ मेगावाट र हिउँदयाममा न्यूनतम २० देखि २२ मेगावाट विद्युत् उत्पादन हुने परियोजनाका सहायक प्रबन्धक कृष्ण चौधरीले बताए ।
आयोजनाले निर्माण सुरु भएको ५ वर्षमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष लिएको भए पनि विभिन्न कठिनाइको सामना गर्दै ८ वर्षपछि विद्युत् उत्पादन सुरु गर्न सफल भएको हो ।
यहाँको भौगोलिक कठिनाइ, स्थानीय समस्या, वित्तीय श्रोत सुनिश्चितताको समस्याले गर्दा विभिन्न कठिनाइहरू पार गर्दै परियोजनाले आफ्नो लक्ष प्राप्त गर्न सफल भएको सहायक प्रबन्धक चौधरीले बताए ।
यसले कोशी प्रदेशको विद्युत् माग धान्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त विद्युत् लाम्मानेस्थित सोलु करिडोरको १३२ केभि प्रसारण लाइनमा जोडिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्