झापा, साउन ५ । झापाको मेचीनगर –४ आमडाँगीमा रहेको मानव सेवा आश्रममा एक वर्षको अवधिमा ९ जना आश्रितहरुको मृत्यु भएको छ ।

शारीरिक र मानसिक रुपमा अस्वस्थ्य अबस्थामा रहेका सडक मानवहरुलाई उद्धार गरी ल्याइने गरेका कारण मृत्यु हुनेहरुको संख्या बढेको आश्रमले जनाएको छ ।
साउन २ गते कन्काई नगरपालिका र इलाका प्रहरी कार्यालय सुरुङगाको संयुक्त टोलीले कन्काई ३ बाट वतन नखुलेका अन्दाजी ७४ वर्षका गोपाल ठकुरीलाई उद्धार गरी आश्रममा ल्याई राखेकोमा हिजो बिहान ६ः३० बजे सोही आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भएको छ ।
आमडाँगीमा कार्यालय खोलेर मानव सेवा आश्रम झापा शाखाले गत वर्षको असारदेखि सेवा दिन थालेको हो । तर औपचारिक उद्घाटन मंसिर २३ गते भएको हो । यो बिचमा एक महिलासहित ९ जना आश्रितहरुको मृत्यु भएको आश्रमले जनाएको छ । शारीरिक र मानसिक रुपमा कमजोर अबस्थामा उद्धार गरेर ल्याइएका आश्रितहरुलाई सेवाको क्रममा उपचार गर्दागर्दै पनि बचाउन नसकिएको आश्रमकी कर्मचारी गंगा थापाले बताइन् ।
हालसम्म सो आश्रमबाट १०३ जनाले सेवा लिएका छन् । नेपाल र भारत घर भएका गरि २४ जनाको पारिवारिक पुनर्मिलन भएको उनले बताइन् । त्यस्तै आफ्नो इच्छाले १४ जना घर गएका छन् भने एकजनाको स्थानान्तरण भएको छ । हाल आश्रममा ५७ जनाले आश्रय लिइरहेका छन् ।
आश्रममा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षाको व्यवस्था गरिएको थापाले बताइन् । उनले आश्रममा रहेर उपचारपश्चात् उनीहरुको परिवार भेटिएको अवस्थामा पारिवारिक पुनर्मिलन गराउने गरेको जानकारी दिइन् । आश्रममा स्वास्थ्यकर्मीसहित ८ जना कर्मचारी रहेका छन् ।