कचनकवल, साउन ५ । झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानी स्वास्थ्य केन्द्रमा डिजिटल एक्स–रे सेवा सुरु गरिएको छ।

गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्ष नवराज भट्टराईले हिजो संयुक्तरूपमा उक्त सेवाको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राजवंशीले डिजिटल एक्स–रे सेवा सुरु भएसँगै अब स्थानीय मात्र होइन, छिमेकी भारतका बासिन्दाहरूले समेत छिटो र सुलभ सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । सामान्य चेकजाँचका लागि पनि भद्रपुर जस्तो टाढा ठाउँमा जानुपर्ने बाध्यता अब हटेको बताउँदै उनले बनियानीमै भद्रपुरभन्दा सस्तोमा एक्स–रे सेवा उपलब्ध हुने जानकारी दिए ।
कचनकवल वा भारतका नागरिकहरूलाई एउटै दरमा सेवा दिनेछौं,“ अध्यक्ष राजवंशीको भनाइ थियो। भारतीय सीमावर्ती क्षेत्रमा पर्याप्त अस्पताल तथा स्वास्थ्य सुविधाको अभाव भएकाले गर्दा भारतीय नागरिकहरु उपचारका लागि कचनकवल आउने गर्ने क्रम बढेको छ। यसले कचनकवललाई ‘हेल्थ टुरिजम’ को सम्भावित केन्द्रको रूपमा विकास गर्न सकिने अध्यक्ष राजवंशीले बताए ।


पालिकाका उपाध्यक्ष भट्टराईले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै पालिकाले क्रमशः नयाँ सेवा थप्ने योजना रहेको जानकारी दिए । “स्वास्थ्य, शिक्षा र रोजगार जनताको आधारभूत आवश्यकता हुन्। तिनको परिपूर्ति स्थानीय सरकारको प्रमुख जिम्मेवारी हो,“ उनले भने ।

करिब ४० हजार जनसंख्या रहेको कचनकवल गाउँपालिकामा बनियानी स्वास्थ्य केन्द्र एक मात्र पूर्ण सुविधासम्पन्न सरकारी स्वास्थ्य संस्था हो। सातै वडामा स्वास्थ्य चौकी भए पनि बनियानीमा २४ घण्टा इमर्जेन्सी सेवा, डाक्टरको व्यवस्था, प्रसूति सेवा, सर्पदंश उपचारलगायतका सेवा उपलब्ध छन्। स्थानीय सरकारले यस केन्द्रलाई १५ शैय्याको आधारभूत अस्पतालको रूपमा विस्तार गर्ने तयारी गरिरहेको छ।नयाँ डिजिटल एक्स–रे सेवाले स्वास्थ्य सेवामा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्