झापा, साउन ६ । झापामा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

हिजो साँझ ६ः५० बजे कमल गाउँपालिका ६ मंगलबारेस्थित पाडाजुँगी– गौरादह सडकखण्डमा दही चोकबाट पाडाजुँगीतर्फ आउदै गरेको मे.१ च८२५ नम्बरको मारुती भेनलाई सोही दिशातर्फ जाँदै गरेको को.१८ प.३७७ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कमल ५ बस्ने १६ वर्षीय सुजन खनाललाई केही नभएको तर सोही मोटरसाइकलमा पछाडी सवार उनका हजुरबुबा ७६ वर्षीय कृष्णप्रसाद खनाल गंभीर घाइते भएका थिए । टाउको र निधारमा चोट लागेर सोही मारुती चालक कमल ४ बस्ने ५१ वर्षीय हेमराज राईले उपचारको लागि दमक अस्पताल एण्ड रिसर्च सेन्टर दमकमा ल्याई उपचारको क्रममा साँझ ७ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर दुबै सवारी साधन र दुबै चालकलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै हिजो साँझ ७;३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ६ हवल्दार चोकस्थित भित्री सडकखण्डमा मे १ ह ७११४ नम्बरको सिटी सफारी र बा ४८ प ६३९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका वडा नम्बर ७ चन्द्रडाँगी बस्ने बर्ष २७ को दिपेश राजवंशी, मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २४ का रमेश राजवंशी , सिटी सफारी चालक शिवसताक्षी नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ५० का चन्द्र महरा र सिटी सफारीमा सवार शिवसताक्षी वडा नम्बर ५ बस्ने वर्ष ६० का बमबहादुर दर्जी रहेका छन् । घाइतेहरुलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी बिर्तामोड अस्पताल ल्याइएको छ ।
त्यस्तै हिजो राति कमल–४ ज्योति चोकस्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको बा.प्र.०२–०५० प ३९७३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट चन्द्रपुर –४ बस्ने बर्ष २३ का रोशन खड्का घाइते भएका छन् । गंभीर घाइतेलाई उपचारको लागि आम्दा अस्पताल दमक पठाएको प्रहरीले जनाएको छ ।