झापा, साउन ११ । गत वर्ष साउन ११ सम्ममा झापामा धान रोपाइँ मोटामोटी सकिसकेको थियो । तर, यस वर्ष ८१.६ प्रतिशत मात्र रोपाइँ भएको छ ।

पर्याप्त वर्षा नभएका कारण झापाको १३ हजार ९८५ हेक्टर जमिन बाँझै रहेको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार साउन ११ सम्म झापामा ८१.६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले आजसम्म ६१ हजार ५७४.६९ हेक्टरमा रोपाइँ भएको जानकारी दिए । गत वर्ष यो मितिसम्म ९२.४ प्रतिशत रोपाइँ सकिसकेको थियो । पर्याप्त वर्षा नभएका कारण किसानहरुले रोपाइँ गर्न नसकिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले बताए ।
मोटर प्रयोग गरी किसानहरुले रोपाइँ गरेपनि आकाशे पानीको भरमा रहेका किसानहरुको खेत बाँझै रहेको हो । एक लाख ६० हजार छ सय हेक्टर क्षेत्रफलमा फैलिएको झापामा खेतीयोग्य जमिन ९८ हजार सात सय १६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ५५९.१८ हेक्टरमा धान खेती हुने गरेको छ । झापामा ५० दशमलव ५३ प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ भने बाँकीमा आकाशे पानीको भरमा खेती हुँदै आएको छ ।