झापा, साउन ११ । ताप्लेजुङको सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका ३० वर्षीया भावना विश्वकर्माको दुर्घटनामा मृत्यु भएको छ ।


सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिका–३ सिकैचा जाँदै गरेको मे१ज ३२९६ नम्बरको जिप दुर्घटना हुँदा उनको मृत्यु भएको हो । जिप चालक फावाखोला बस्ने ३३ वर्षीय सविन विष्ट घाइते भएका छन् ।

आज बिहान १०ः३० बजे विद्यालय जाँदै गर्दा भावना चढेको जिप फुङलिङ ११ फावाखोलास्थित फुङलिङ–फावाखोला भित्री सडकखण्डमा दुर्घटनामा परेको हो ।

जिप ब्रेक फेल भई बाटोबाट ५० मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ । फुङलिङ नगरपालिका–११ फावाखोलाका वडाध्यक्ष युवराज भट्टराईका अनुसार भावनालाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

आजैदेखि स्कुल खुलेकाले भावना विद्यालयतर्फ जाँदै थिइन् । ‘अरु यात्रु बाटोमा ओर्लिइसकेका रहेछन्,’ भट्टराईले भने, ‘गाडीमा उहाँ एक्लै रहनुभएको रहेछ, टर्निङमा गाडी मोड्ने क्रममा ५० मिटरजति तल झरेको भेटियो ।’ उपचारका लागि लैजाँदै गर्दा त्रिभुवन चोकमा पुगेपछि भावनाको मृत्यु भएको भट्टराईले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मृतक भावना फुङलिङ नगरपालिका–११ फावाखोलाकै हुन् । फावाखोलाकै चालक विष्टको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्