शान्तिराम बस्नेत,
करिब १५ दिनअघि म झरना संयुक्त युवा क्लबको श्रमदानको समाचार कभर गर्न भनी दुधे रङ्गशाला पुगेको थिएँ । त्यही भीडमा एक व्यक्तिले झार काट्दै त कहिले बोरामा फोहोर उठाएर फ्याँकिरहेको देखेँ । त्यो अनुहार चिनेझैँ लाग्यो । अनि सम्झिएँ—कुनै समयका लागूपदार्थमा फसेका युवकसँगै दादा पनि ।

एकछिन त आँखा झिमिक्क भए । यो कसरी सम्भव भयो ? त्यसपछि सँगै रहेका साथीहरू सूर्यप्रकाश याङया, सन्तोष थोप्रा र विशाल खरेललाई उनलाई बोलाइदिन अनुरोध गरेँ । साँच्चै भन्नुपर्दा ममा उनलाई बोलाउने आँट आएन ।
बोलाउनेबित्तिकै उनी आइ पनि हाले । साक्षात्कारपश्चात् नम्रतापूर्वक भनेँ, “दाजु, तपाईंको परिवर्तन देखेर म निकै खुसी भएँ । तपाईंको जिन्दगीका भोगाइहरू समाचारमा लेख्न चाहन्छु, के स्वीकृति दिनुहुन्छ ?”
उनले मुस्कुराउँदै भने, “म खुशीसाथ दिन्छु । मेरो विगतले कसैको बाटो बदलिन्छ भने त्यो मेरो सौभाग्य हुनेछ । नाम लुकाउनु पर्दैन, वास्तविक नाम नै लेख्नुहोस् । समाजले बुझोस्—हिजोको म आज यसरी फेरिएको छु भनेर ।”
१५ दिनपछि दिउँसो उनलाई भेट्न उनको घर गएँ । त्यो बेला उनी गाईवस्तुलाई पानी खुवाउने तयारीमा रहेछन् । अनि सुरु भयो जीवनको अर्को पाना—जहाँ अँध्यारो भूतकाललाई पन्छाउँदै उज्यालो भविष्य निर्माण भइरहेको थियो । अनि सुरु भयोः
“नशाले मान्छेलाई अन्धो बनाउँछ र त्यसले सबैभन्दा नजिकका मानिसहरूलाई पनि शत्रु देखाउँछ” भने झै उमेरले “दुई कोरी दस” उमेरका कालु कार्कीको जीवनमा पनि लागूपदार्थको राक्षसले तीन दशकसम्म आफ्नो जहरिलो नङहरू गाडेको थियो तर आजको दिनहरू उनी त्यो नरकबाट छुटकारा पाएर स्वर्गीय आनन्दको स्वाद चाखिरहेका छन् ।
युवावस्थाको विषबेलः पतनको प्रारम्भिक संकेत
सत्र–अठार वर्षको कच्चो उमेरमा घरको सुरक्षित कोखबाट बाहिर निस्केर वरपरका मित्रहरूको मायाजालमा फसिँदै गएँ भन्दा कालु कार्कीको स्वरमा पश्चातापको गहिरो कम्पन छ । उनी भन्छन् “साथीहरूको मीठो विषले भरिएको प्रलोभनमा पहिले चुरोट–बिडीको धुवाँमा डुब्न थालें त्यसपछि गाँजा, कोरेक्स, फेन्सिडलको नशाको सागरमा हराउँदै गएँ अन्ततः ड्रग्स, ब्राउन सुगर, टीटीसम्मको घातक संसारमा पुगेर आफ्नो अस्तित्वलाई समर्पण गरिदिएँ ।” अतित सम्झेर उनी भन्छन् “सुरुका दिनहरूमा त्यो विकृत संसार नै एकमात्र सत्य हो भन्ने भ्रमको जालमा फसेको थिएँ तर वास्तवमा त्यही घडीदेखि मेरो जीवनको सबैभन्दा डरलाग्दो अध्याय सुरु भएको थियो जुन तीस वर्षको नरकीय यातनामा परिणत भयो ।”
स्वर्ग जस्तो घर बन्न थाल्यो नरक
दिनहुँजसो पैसाको अदम्य लालसाले घेरिएको यो व्यक्तिले पारिवारिक सुखशान्तिलाई तहसनहस पारिदियो । उनले घरको हरेक कुनामा कलहको आँधीतुफान चलाउन थालेंपछि आर्थिक “दिवालियापन”ले परिवारलाई खण्डहरमा बिभाजित गरिदियो । अन्ततः श्रीमतीले पनि यो नरकबाट मुक्ति खोज्दै घरत्याग गरिन् । निराशाको सुरमा उनी थप्छन् “समाजका मानिसहरूले मलाई हेर्दै बाटो परिवर्तन गर्दिन्थे मेरो अस्तित्व नै एक जीवित अभिसाप सरह बनेको थियो । परिवारको गौरवगाथामा मैले “कालिमाको दाग” पोतिदिएको थिएँ । छिमेकीहरूको घृणाले भरिएको तिरस्कारपूर्ण दृष्टिले मेरो आत्मसम्मानलाई चकनाचूर पारिदिएको थियो ।”
पैसाको पिशाचः मानवीय गरिमाको बलिदान
लागूपदार्थको अदम्य तृष्णाले दैनिक न्यूनतम दुई सय रुपैयाँको भारी बोझ थोपरिएको थियो उनलाई । उनले पैसाको खोजीमा मानवीय गरिमा र आत्मसम्मानलाई बजारमा बेच्न बाध्य भएको, कहिले साथीभाइसँग माग्दै, दादाभत्ता उठाउने, पैसा उठ्ने र उठाउने ठाउँमा कहीँ बाँकी नछोडेको बताउँछन् । “कहिलेकाहीं घरकै पवित्र धनसम्पत्ति उठाएर लग्न विवश भएको र यसले पारिवारिक सम्बन्धको जरालाई काटिदिएको, घरका सदस्यहरूले संदेहको नजरले हेर्न थालेको र एक अविश्वसनीय चरित्र बनेर बाँच्न बाध्य भएको उनमा तीतो अनुभव छ ।
शारीरिक नरकः जीवित मृतकको यातना
लागूपदार्थको विषाक्तताले शरीरलाई जीवित चिहानमा रूपान्तरित गरिदिएको थियो उनको । “खाना खाएपछि मात्र अनुभव हुन्थ्यो कि अझै यो संसारमा सास फेरिरहेको रहेछु भन्ने अन्यथा दिनभरि मृत्युको छायाँमा डुबेर निष्क्रिय भएर बित्थ्यो” कालु कार्की कम्पित हृदयले भन्छन् । लागूपदार्थको अभावमा शरीर नरकीय यातनाको शिकार हुन्थ्यो । अंगप्रत्यंगमा असहनीय पीडा ज्वरोले शरीरलाई कम्पायमान बनाइदिने र सम्पूर्ण अस्तित्व विकृत भएको अनुभव हुन्थ्यो त्यो यातना वर्णनातीत र अकल्पनीय थियो ।
नशाको यात्राः मानवीय पतनको चरमोत्कर्ष
लागूपदार्थको खोजीमा उनको दुःखद यात्रा सुदूर प्रदेशहरूसम्म विस्तार भएको थियो । आफ्नै गाउँठाउँका स्थानीय बजारदेखि लिएर धरान, विराटनगर, काँकरभिट्टादेखि भारतको पानीट्यांकी, सिलिगुडी, जोगवनी, नक्सलबारी, दिघलबैङ्क र गलगलियासम्म लागूपदार्थका लागि भिखारी सरह भौतारिनुपथ्र्यो । त्यो खोजीको यात्रा मानवीय गरिमाको समाधिस्थलमा परिणत भएको थियो । हरेक ठाउँमा अपमान र घृणाको प्रहारको सामना गर्नुपथ्र्यो । सबैभन्दा हृदयविदारक क्षण त्यो थियो जब पैसा भएर पनि ड्रग्स प्राप्त नगरी पागल सरह विक्षिप्त भएर चाहार्नुपथ्र्यो ।
त्रासदीको महासागरः जीवनमा प्रलयको आगमन
कालु कार्कीको जीवनमा दुःखका हिमालयहरू थुप्रिँदै गए । “मेरो कारणले श्रीमतीले घरत्याग गरिन्, भाइको पनि लागूऔषधको दलदलमा फसेर अकालमै मृत्यु भयो” गहिरो वेदनाले भरिएको मनले उनी भन्छन् । विरक्तिँदै भन्छन् “बाल्यकालका मित्रहरू जीवनमा सफलताको शिखरमा पुगेको देख्दा आफूले त्यो अनमोल जीवन व्यर्थमा गुमाएको तीव्र पश्चात्ताप हुन्छ । उनीहरू सफलताको रंगमञ्चमा प्रदर्शन गरिरहेका छन् तर म भने भर्खर अन्धकारबाट उज्यालोतर्फ लम्किरहेको छु ।”
सुधार गृहको कठिन यात्राः तर बेकार
आमाबुबा र श्रीमतीले आफ्ना छोरा र श्रीमान् सुध्रिनेछन् भन्ने ठूलो आशा राखेर उनलाई सुधार केन्द्रमा भर्ना गराए । उनले कडा वाचा गरे तापनि लत लाग्ने बानीबाट तुरुन्तै छुटकारा पाउनु असम्भव थियो । तैपनि उनी सुधार केन्द्रमा प्रवेश गरे । “त्यहाँका दिनहरू मेरो जीवनका सबैभन्दा कठिन तर फाइदाजनक दिनहरू थिए,” उनी सम्झन्छन् । डाक्टर र सल्लाहकारहरूको निरन्तर सहयोगमा शरीरबाट हानिकारक पदार्थहरू निकाल्ने काम सुरु भयो । दिनरात असहनीय पीडाको सामना गर्दै उनले आफ्नो हिम्मतको ठूलो परीक्षा दिए । लामो समयको उपचारपछि उनी घर फर्किए । केही समयसम्म त सबै राम्रो चल्यो तर फेरि उनी लागूपदार्थकै दलदलमा डुब्न पुगे ।
छोराको मृत्युः जीवनको निर्णायक मोड
कालु कार्कीको जीवनमा सबैभन्दा निर्णायक र हृदयविदारक क्षण आयो जब उनका १९ वर्षीय जेठा छोराको मोटरसाइकल दुर्घटनामा असामयिक मृत्यु भयो । आँसुले भिजेको कण्ठले उनी भन्छन् “छोराको मृत्युले मेरो हृदयमा बज्रपातको प्रहार गर्यो । त्यो विनाशकारी क्षणमा अनुभव भयो कि यो नशाको संसार केवल “मरीचिका” रहेछ यसलाई तुरुन्त परित्याग गर्नुपर्छ ।” त्यो पीडादायक घडीमा जीवनको कटु सत्यले उनलाई झन्झटमा पारिदियो आफ्नो अज्ञानताले परिवारलाई कति गहिरो आघात पुर्याएको छु भन्ने बोध भयो । छोराको मृत्युले उनमा नयाँ युगको पुनर्जागरणको पथमा धकेलिदियो ।
आत्मसंकल्पः स्वाधीनताको घोषणा
कालु कार्कीले कुनै बाह्य दबाब वा उपदेशमा नभएर आफ्नै इच्छाशक्तिको बलमा लागूपदार्थ त्याग्ने ऐतिहासिक निर्णय लिए । उनले सुस्केरा हाल्दै भने “कसैको चाप वा सल्लाहमा होइन आफ्नै अन्तरात्माको पुकारले यो महत्वपूर्ण निर्णय गरेको हुँ । छोराको मृत्युले मभित्र सुप्त रहेको दिव्य शक्तिलाई जगाइदियो ।”
पुनर्जन्मको बिहानीः निराशाबाट आशाको मार्ग
३ वर्षदेखि लागूपदार्थबाट सम्पूर्ण मुक्ति प्राप्त गरेका कालु कार्कीको जीवनमा अद्भुत र चमत्कारिक परिवर्तन घटित भएको छ । आनन्दले उज्ज्वल भएको मुखमण्डलमा उनी भन्छन् “अहिले खेती–किसानी र पशुपालनमा मेरो हृदय रमाउँछ सामाजिक सेवाका क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाएको छु । छिमेकीले अब सम्मानको नजरले अवलोकन गर्छन् मेरो रूपान्तरणको प्रशंसा गर्छन् पुनः पुरानो दिनमा फर्कने त्रास छैन किनभने जीवनको वास्तविक सौन्दर्य दर्शन गरिसकेको छु ।” भनौ समाजको दृष्टिकोणमा उनीमाथि सकारात्मक क्रान्ति आएको छ ।
नयाँ बिहानका रंगहरू
बिहान, बेलुकी घरमा भएका गाईबस्तुको हेरचाह, खेतमा काम, अनि खाली समय सामुदायिक कार्यमा सहभागिता – यो हो कालु दाईको दैनिकी । “पहिले यही समयमा ड्रग्सको खोजीमा भौंतारिन्थेँ, अहिले उत्पादनशील कामहरूमा व्यस्त छु,” उनी भन्छन् । झरना युवा क्लबको सक्रिय सदस्य बनेर सामुदायिक विकासका कामहरूमा योगदान दिइरहेका छन् ।
दुर्व्यसनीहरूका लागि उनको अमृत सन्देश
उनले दुर्व्यसनको जालमा फसेकाहरूलाई हृदयबाट निस्केको परामर्श दिन्छन् “प्रिय भाइबहिनी हो नशाको विषबेललाई स्पर्श नगर्नुहोला । त्यो क्षणिक झूठो सुखको भ्रम हो । यसले जीवनलाई सर्वनाशमा धकेल्छ । नशा भनेको खाँदै नखानुपर्ने अभिशाप हो दुष्ट संगतबाट सदाका लागि मुक्त रहनुहोला ।”
त्यति मात्र नभएर उनका अनुभवका आधारमा आफ्ना छरछिमेकका सन्तानहरूलाई भरपूर स्नेह र समय प्रदान गर्न, आफ्ना छोराछोरीले एकान्त खोज्न वा रोज्न थाले भने तत्काल सचेत हुन, साथीको संगत पहिचान गरेर आवश्यक परे वातावरण परिवर्तन गरिदिन, आफ्ना व्यावसायिक व्यस्तताभन्दा सन्तानको संरक्षणलाई प्राथमिकता दिन उनी सुझाव दिन्छन् । त्यस्तै दुर्व्यसनीहरूलाई घृणाको पात्र नठानेर सहयोगको हात बढाउन, यो व्यक्तिगत समस्या मात्र नभएर सामाजिक संकट भएकाले त्यसको निदानमा सबैको योगदान अपरिहार्य हुनुपर्ने, अभिभावकहरूले छोराछोरीसँग खुला र ईमानदार संवाद स्थापना गर्नुपर्ने सल्लाह दिन्छन् ।
जीवनको नवीन अर्थबोध ः सत्यको उद्घाटन
हाल कालु कार्कीले जीवनको वास्तविक महत्व र सुन्दरताको अनुभव गर्नुका साथै पूर्वमा भ्रमको संसारमा निमग्न भएकोले अहिले जीवनको अनमोल सत्यलाई आत्मसात गरेको जनाउँछन् । उनी थप्छन् “अतीतको पश्चातापले मलाई दुर्बल बनाउँदैन ताकि त्यसबाट प्राप्त शिक्षाले मलाई शक्तिशाली बनाएको छ अब अवशिष्ट जीवन अर्थपूर्ण बनाउने र समाजप्रति कृतज्ञता अभिव्यक्त गर्ने अटल संकल्प छ ।”
आशाको सन्देशः अन्धकारको अन्त्य सम्भव छ
५१ वर्षीय कालु कार्कीको जीवन हजारौं दुव्र्यसनीहरूका लागि आशाको मशाल हो । उनको जीवनले प्रमाणित गर्छ कि जतिसुकै गहिरो अन्धकारमा डुबेको व्यक्ति भए पनि दृढ संकल्प र निरन्तर प्रयासले उज्यालोमा फर्कन सकिन्छ ।
“मेरो विगतले यदि एकजना व्यक्तिको पनि भविष्य उज्यालो बनाउन सक्यो भने मेरो संघर्ष सार्थक हुनेछ ।” कालु दाईको यो भनाइमा एक पुनर्जन्म प्राप्त व्यक्तिको गहिरो सन्तुष्टि छ ।
उनको जीवनको पीडादायी भोगाईले हजारौं दुर्व्यसनीहरूलाई आशाको दीप प्रज्वलित गराएको छ । यसले साक्षी प्रदान गरेको छ कि कुनै पनि व्यक्ति जतिसुकै गहिरो अँध्यारोमा हराएको भए पनि परिवर्तन निश्चित छ ।
उनको जीवनको भोगाइले के प्रष्ट पार्छ भने अन्धकारबाट उज्यालोको यात्रा निश्चित रूपमा सम्भव छ । हरेक मानिसमा परिवर्तन गर्ने क्षमता हुन्छ । तपाईं पनि यो दलदलबाट बाहिर निस्केर एउटा सुन्दर र अर्थपूर्ण जीवन जिउन सक्नुहुन्छ ।“सुरुवात गर्न ढिलाइ नगर्नुहोस्, आजैबाट नयाँ जीवनको यात्रा सुरु गर्नुहोस् ।”
कालु मामा एक जिवन्त इतिहास हुनुहुन्छ। धेरै सिक्ने मौका पाको छु। धन्यवाद शन्तिराम दाजु, हजुरको मिठा सब्दहरुलाइ।