लक्ष्मी उप्रेती
मेचीनगर । मेचीनगर नगरपालिकाका दुईजनालाई जापानिज इन्सेफलाइटिस् रोग देखिएको छ ।


मेचीनगर ३ र ५ नम्वर वडाका दुई जना महिलामा यसको संक्रमण देखिएको हो । वडा नम्बर –३ की ३६ र वडा नम्बर –५ की ५५ वर्षीया महिलामा संक्रमण देखिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

शुरूमा टाउको दुख्ने र ज्वरो आउन थालेपछि उनीहरूले सामान्य उपचार गरेको र पछि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि अस्पताल पुगेको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् । अस्पतालमा पुगेपछि उनीहरूमा जापानिज इन्सेफलाइटिस् संक्रमण देखिएको थियो । उनीहरूको उपचार डाक्टर शरद भट्टराईले गरेका थिए ।
दुईजनामध्ये वडा नम्बर –३ की महिला उपचारपश्चात् घर फर्किसकेको र अर्की महिलाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको बताईएको छ ।

सोही विषयमा आज मेचीनगर नगरपालिकाको स्थानीय द्रुत प्रतिकार्य समिति आरआरसी र द्रुत प्रतिकार्य टोलीको आरआरटीको संयुक्त बैठक सम्पन्न भएको छ । स्थानीय द्रुत प्रतिकार्य समितिका संयोजक एवम् नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा जापानिज इन्सेफलाइटिस् संक्रमण देखिएका वडाका वडाध्यक्षबीच सम्पन्न बैठक मेचीनगरमा देखिएको जापानिज इन्सेफलाइटिस्को संक्रमणलाई तत्काल रोकथाम गर्नुपर्ने विषयमा बैठक केन्द्रीत थियो ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्राकोटीले जापानिज इन्सेफलाइटिस् मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको गम्भीर रोग भएको छलफलमा सहभागीलाई जानकारी दिए ।

यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर, धेरैजसो १५ बर्षमुनिका बालबालिकामा देखिने बाह्राकोटीले बताए ।
गत वर्ष यो संक्रमणबाट मेचीनगर वडा नम्वर – १५ मा एकजनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्