
रमेश नेपाल,
सूर्य दक्षिणको बाटो हिँड्न सुरु गर्ने साउन महिना र सोमवार शास्त्र अनुसार भगवान् शिवको महिना र वार भएकाले पूजा, आराधनाका लागि उत्तम समय रहेको मानिन्छ
भगवान् शिवले चन्द्रमालाई शिरको जटामा धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । साउनको सोमबार व्रत गरी एक छाक खाएमा सन्तान नहुनेले सन्तान, विद्या चाहनेले विद्यालगायत मनोकांक्षा पूरा हुने जनबिश्वास रहेको छ
महिलाले मात्र नभई पुरुषले पनि साउन महिना र सोमवार ब्रत गर्न सक्ने शास्त्रमा वर्णन गरिएको छ । महिलाले हरियो चुरा, पोतेलगायत कपडा लगाउनु प्रकृतिसँगको सामीप्यता भएकाले यो वैज्ञानिक भएको ठम्याई छ । हरियो सामग्री चन्द्रमाको प्रतीक भएकाले शीतलता, सुख, शान्ति प्रदान गर्छन् । यसबाट भगवान् शिव प्रसन्न भई मनोकांक्षा पूरा गर्नुहुने धार्मिक विश्वास छ ।
साउनमा ब्रत किन,कसरी, कसले बस्ने ?
हिन्दू धर्मका प्रमुख १० वटा नियमहरु छन्ः ईश्वर प्राणीधान, संध्योपासना, ब्रत, तीर्थ, त्योहार, दान, यज्ञ, संस्कार, सेवा तथा धर्म प्रचारहरु रहेका छन् । ईश्वर प्राणीधानको अर्थ ब्रह्मा नै सत्य हुन् । उनकै प्रति समर्पित रहेर सन्ध्या बन्दना तथा एक विशेष प्रार्थना गर्ने गरिएको हुन्छ । ब्रह्माको पूजाको लागि एक दिनको आठ प्रहरमध्ये पनि दुई प्रहर एकदम शुभ हुने गर्दछ ।
ब्रतमा श्रावण महिनाको पूरै महिना उपवास राख्नु जरुरी रहेको छ । तीर्थमा चार धाम तथा काशी यात्राको मात्रै पनि पुण्य हुन्छ । दानमा अन्न दान श्रेष्ठ हुन्छ । त्योहार पर्वमा मकर संक्रान्ति तथा कुम्भ पर्व महत्वपूर्ण हुन्छ । यज्ञमा पञ्चयज्ञको महत्व बढी रहेको छ । सेवाको लागि अनाथ गरिब बृद्ध र देशको सेवा सबैभन्दा महत्वपूर्ण हुन्छ ।
१६ संस्कारको अनुरूप नै वैदिक नियमबाट महत्वपूर्ण कार्य सम्पन्न गर्नु जरुरी रहेको छ । त्यसैले आफैंभित्र धर्मको प्रचारप्रसार गर्नु आवश्यक रहेको छ ।
सप्ताहको कुरा गर्दा बिहीवार सबैभन्दा उत्तम देखिन्छ । तिथि अनुसार ब्रत बस्दा एकादशी तिथि नै सबैभन्दा महत्वपूर्ण तिथि हो तथा महिनाको कुरा गर्दा श्रावण महिना ब्रतको लागि सबैभन्दा महत्वपूर्ण महिना हो । श्रावण महिनामा बसिने उपाक्रम ब्रतको महत्व एकदमै धेरै रहेको छ । यसलाई श्रावणी समेत भन्ने गरिएको छ ।
सोमवार ब्रत बस्ने चलन कसरी सुरु भयो ?
सोमवार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन् । यी कथाहरुमध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको ब्रतपश्चात् धन प्राप्त गरेको कथा छ। दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षापछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथाअनुसार शिव र पार्वतीको कृपाले छोराको पुनरजन्म भएको थियो। तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।
कुनै पनि खालको ब्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरीरलाई फाइदा पुर्याउँछ। ब्रतको धारणा परापूर्वककालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाई आकर्षित गर्न प्रयोग गर्थे। यसले शारीरिक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ।