झापा, साउन १३ । झापाका अलग अलग स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।

हिजो साँझ ६ः२० बजे दमक– ३ प्रगति टोलस्थित भित्री पक्की सडकखण्डमा आमचोकबाट फुटानीचोकतर्फ जाँदै गरेको मे.११ प.१२४ न.को स्कुटीले सोही ठाउँ बस्ने जगतसिंह नेम्वाङको कुकुरलाई ठक्कर दिई दुर्घटना हुँदा कुकुरको घटनास्थलमा नै मृत्यु भएको छ ।

स्कुटी चालक इलाम चुलाचुली ५ घर भई हाल दमक ५ बस्ने १७ वर्षीया सम्प्रदा लिम्बू, सोही स्कुटीमा पछाडी सवार चुलाचुली ५ घर भई हाल दमक १ बस्ने १८ वर्षीया टिका राई घाइते भएका छन् । दुबै घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

त्यस्तै गएराति ८ः२० बजे मेचीनगर –१० त्रिफला पुस्तकालयस्थित भित्री सडकखण्डमा नेम्वाङ पेट्रोल पम्पबाट फुट्सलतर्फ जाँदै गरेको प्र.१–०१–०१६प.३५०८ न.को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको मे.८प.४८८ न. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा प्र.१–०१–०१६प.३५०८ न.को मोटरसाइकल चालक मेचीनगर –१० शान्तिटोल बस्ने २८ वर्षीय बसन्त राजवंशी सकुशल छन् ।सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीया झर्ना राजवंशी घाइते भई आम्दा अस्पताल धुलाबारीमा उपचारपश्चात डिस्चार्ज गरिएको छ ।

त्यस्तै मे.८ प.४८८ न. को मोटरसाइकल बुद्धशान्ति –४ सृजना बस्ती बस्ने ३० वर्षीय कुमार तिम्सिना पनि घाइते भएका छन् । उनको शिखर अस्पताल धुलाबारीमा उपचार भइरहेको छ ।

त्यस्तै गएराति १२;१५ बजे अर्जुनधारा वडा नं.८ पेट्रोल पम्पस्थित बिर्तामोड– शनिश्चरे सडकखण्डमा शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ४ प ६६१० नं को मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको मे २ प २४६८ नं को मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको छ । दुर्घटनामा मे २ प २४६८ नं को मोटरसाइकल चालक अर्जुनधारा ६ बस्ने ३२ वर्षीय गणेश दनुवार, सोही मोटरसाइकलमा पछाडी सवार ३४ वर्षीय विनोद लिम्बू घाइते भएका छन् ।

त्यस्तै मे ४ प ६६१० नं को मोटरसाइकल चालक अर्जुनधारा ६ बस्ने २२ वर्षीय विवेक शाह पनि घाइते भएका छन् । घाइते तीनै जनाको शकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्