झापा,साउन १५ । बेलाबखत बिजुली जाने समस्या लोडसेडिङ नभएको नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रका प्रमुख संजिवकुमार शाहले बताएका छन् ।

आन्तरिक समस्याका कारण बेलाबखत बिजुली गएको बताउँदै उनले लोडसेडिङको कुरामा चिन्ता नगर्न ग्राहकहरुलाई आग्रह गरेका छन् । सुक्खा यामका कारण ट्रान्सफर्मर जल्ने , फ्युज जाने , तारको साइज सानो भएकोले टुट्ने , जम्पर टुट्ने , सडक विस्तारका कारण लाइन काट्नु पर्ने लगायतका कारण विद्युत आपूर्ति नियमित हुन नसकिरहेको उनको भनाई छ ।

आफ्नो कार्यकक्षमा पत्रकारहरुसंग कुराकानी गर्दै वितरण केन्द्र प्रमुख शाहले ४३ मेगावाट विजुली आपूर्ति भइरहेकाले पावरमा समस्या नभएको बताए । ‘लोडसेडिङ छैन, पावर जति पनि छ ’ उनले भने,‘ आन्तरिक समस्या र सुक्खा यामले गर्दा डिस्टर्व भएको हो ।’ अनारमनी वितरण केन्द्रले नियमित विद्युत आपूर्तिका लागि ४ वटा फिडर थप गरेको छ । हाल १३ वटा फिडर रहेका छन् । त्यस्तै ८५ वटा ट्रान्सफर्मर थप गरिएको बताउँदै कार्यालय प्रमुख शाहले हाल ट्रान्सफर्मरको संख्या ५६५ वटा पुगेको जानकारी दिए ।

उनले लालमाटी एरियामा उद्योगहरु रहेकाले घैलाडुब्बा सवस्टेशनबाट लालमाटीसम्म औद्योगिक फिडर निर्माण गरी चार्ज गरिएको, नयाँ ११ के.भी.गोलधाप फिडर चार्ज गरी गरामनी फिडरको लोड व्यवस्थापन गरिएको,नयाँ ११ के.भी.चारपाने फिडर चार्ज गरी ११ के.भी.सुरुङ्गा फिडरको लोड व्यवस्थापन गरिएको ,नयाँ ११ के.भी.दुर्गापुर फिडर चार्ज गरी ११ के.भी.कन्काई फिडरको लोड व्यवस्थापन गरिएको ,३३ के.भी.घैलाडुब्बा फिडर लगायत अनारमनी १३२।३३ ।११ के.भी.सवस्टेशनबाट वितरित सम्पूर्ण ११ के.भी.फिडरहरुमा लोड ब्रेक स्वीच जडान गरिएको जानकारी दिए । अनारमनी वितरण केन्द्रअन्तर्गत हाल ९७ हजार २८४ ग्राहक रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्