झापा,साउन २१ । नेपालले आर्थिक वर्ष २०८१÷८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

भारतमा १७ अर्ब १९ करोड ३२ लाख र बंगलादेशमा २६ करोड ६६ लाख ९८ हजार रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको हो । यही अवधिमा भारतबाट १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको बिजुली आयात भएको छ ।
अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा बिजुली निर्यात बढेको र आयात घटेको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा १७ अर्ब ६ करोड ६० लाख रुपैयाँको बिजुली भारत निर्यात गरिएको थियो ।
बंगलादेशमा भने बिजुली निर्यात सुरु भएको थिएन । त्यो वर्ष २०८०÷८१ मा भारतबाट १६ अर्ब ९२ करोड ९० लाख रुपैयाँको बिजुली आयात गरिएको थियो । गएको आर्थिक वर्षमा भारतमा २ अर्ब ३४ करोड ९९ लाख ८६ हजार ९ सय ५५ र बंगलादेशमा ३ करोड ३ लाख ९ हजार ७ सय ६० किलोवाट–आवर बिजुली निर्यात भएको प्राधिकरणको तथ्यांक छ ।
नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’ मा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । प्राधिकरणले मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई पनि बिजुली बेच्ने गरेको छ । यहाँबाट खरिद गरेको बिजुली एनभीभीएनले हरियाणा राज्यमा आपूर्ति गर्दै आएको छ ।

भारतसँग विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ । बंगलादेशसँग भने डलरमा बिजुली निर्यात भइरहेको छ । नदी तथा खोलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन वृद्धि हुने भएकाले वर्षायाममा प्राधिकरणले विद्युत् निर्यात गर्दै आएको हो । हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादन घटेका बेला स्वदेशको माग धान्न हिउँदका केही महिनामा भारतबाटै बिजुली आयात गरिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्