झापा, साउन २१ । तीस दिने अल्टिमेटमभित्र आफ्ना माग पूरा नभएपछि झापाका चिया श्रमिकहरुले जिल्लाका चारवटा चिया बगान बन्द गरेका छन् ।

उनीहरुले भद्रपुरको गौरीशंकर , रिद्धिगणेश , सूर्य र मेचीनगरको नाज टी इस्टेटमा हड्ताल गरेका हुन् । गौरीशंकर, रिद्धिगणेश र सूर्य टी इस्टेटमा साउन १८ देखि र नाज टी इस्टेटमा हिजोदेखि उनीहरुले काम बन्द गरेका हुन् । जिल्लाका अन्य बगानहरुमा पनि क्रमशः हडताल गर्दै जाने नेपाल चिया कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले बताए ।

श्रम ऐन २०७४ को दफा ११६ (ग)अनुसार उनीहरुले विभिन्न माग राखेका छन् । श्रम ऐन २०७४ को ११ अनुसार रोजगार सम्झौता गरेर मात्र काममा लगाउनु पर्ने ,सवै श्रमिकलाई श्रम ऐन अनुसार उपदान, संचयकोष , चाडपर्व खर्च दिनु पर्ने ,योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सवैलाई सूचीकृत गरिनु पर्ने ,पत्ती डबलीको दर वृद्धि हुनु पर्ने ,२०८० साल साउनको दुई महिनाको प्रत्येक दिनको रु ६५÷– छुटेको रकम भुक्तानी दिनु पर्ने ,व्यवसायजन्य स्वास्थ्य सुरक्षा समिति गठन र सुरक्षा सामग्रीको व्यवस्था हुनु पर्ने ,दैनिक काम गर्ने कार्यथलोमा बाटोघाटो सुरक्षित बनाउनु पर्ने ,दुई वर्षभन्दा बढी समय काम गरेकालाई नियमित श्रमिकको मान्यता हुनु पर्ने ,ट्रेड युनियनसम्बन्धी सेमिनार गोष्ठीमा सहभागी हुँदा हाजिरी बिदा पाउनु पर्ने ,संचित रहेको घर बिदा, बिरामी बिदाको रकम नगद भुक्तानी दिनु पर्नेलगायतका माग चिया श्रमिकहरुले राखेका छन् ।

चिया श्रमिकहरुहरुले आफ्ना माग बगान संचालकसमक्ष राख्दै आएका छन् । तर, रोजगारदाताले २१ दिनसम्म वार्तामा नबोलाएको केन्द्रीय अध्यक्ष राईले बताए । दफा ११८ बमोजिम श्रम कार्यालयमा उजुरी गरेपछि श्रम कार्यालयले दुई पटक वार्ता बोलाएको थियो । तर वार्तामा सबै बगानले आधिकारिक प्रतिनिधि पठाएनन् भने कसैको आएर पनि कुनै सहमति हुन सकेन । दफा १२१ अनुसार ३० दिनको अल्टिमेटम दिँदा समेत अटेर गरेपछि बाध्य भएर हड्तालमा उत्रिनु परेको केन्द्रीय अध्यक्ष राईको भनाई छ । गौरीशंकरमा ७०, रिद्धिगणेशमा २५ , सूर्यमा ७० र नाज टी इस्टेटमा ६५ जना श्रमिक कार्यरत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्