कचनकवल, साउन २३ । डिजिटल सहकारी संस्था लिमिटेड, बनियानीका बचतकर्ताहरुले आफ्ना बचत रकम पटक–पटक माग्दा पनि फिर्ता नपाएको गुनासो गरेका छन्।

उनीहरुले पत्रकार सम्मेलन गर्दै आफूहरुले वर्षौंको मेहनतबाट जम्मा गरेको लाखौं रुपैयाँ सहकारीले फिर्ता नदिएको भन्दै आक्रोश पोखेका हुन्।

बचतकर्ताहरुका अनुसार सहकारीमा धेरैले ५ लाखदेखि ७ लाख रुपैयाँसम्म बचत गरेका छन्। तर, २–३ वर्षदेखि लगातार धाउँदा पनि हालसम्म आफ्नो रकम फिर्ता नपाएको उनीहरुको गुनासो छ।

“जब–जब पैसा माग्न जान्छौं, ’पैसा छैन’ भन्ने उत्तर आउँछ,” एक पीडित बचतकर्ताले बताए, “हामीले दुःख गरेर जम्मा गरेको पैसा यतिका वर्षसम्म रोक्नु न्यायसंगत हो ?”

पूर्व गाउँपालिका अध्यक्ष अञ्जार आलम संचालक समिति अध्यक्ष रहेको सो सहकारीका व्यवस्थापक बिमल साहका अनुसार सहकारीले हाल एक करोड रुपैयाँभन्दा बढीको कर्जा उठाउन बाँकी रहेको छ, जसका कारण बचत फिर्ता गर्न समस्या आइरहेको हो।

“हामी बचतकर्ताको रकम क्रमशः फिर्ता गरिरहेका छौं,” व्यवस्थापक साहले भने, “तर बजारबाट उठाउनु पर्ने एक करोड रुपैयाँ बराबरको रकम उठाउन कठिन भइरहेको छ। त्यही कारण बचत फिर्तामा ढिलाइ भएको हो।”
उनले हाल फिर्ता गर्नुपर्ने बचत रकम लगभग २० लाख रुपैयाँ मात्रै रहेको भन्दै चाँडै नै बाँकी रकम फिर्ता गरिने आश्वासन पनि दिए।

सहकारीले खराब ऋणीहरुमाथि कडाइ गरी रकम उठाउने र त्यसपछि बचतकर्ताको पैसा फिर्ता गर्ने योजना बनाएको साहले जानकारी दिए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्