झापा, साउन २३ । मोटरबाट सिंचाई गर्ने क्रममा करेन्ट लागेर झापामा चारजनाको मृत्यु भएको छ ।

एक महिनाको अवधिमा त्यति धेरै जनाले मोटरबाट ज्यान गुमाएका हुन् । साउन २० गते गौरादह– ४ जोरघरे बस्ने स्वर्गीय ललित नेम्वाङकी श्रीमती ५४ वर्षीया चन्द्रमाया नेम्वाङले आफ्नै घरदेखि १० मिटर पूर्वोतरमा रहेको मोटरबाट खेतमा सिँचाई गर्ने क्रममा अचानक करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भयो ।
त्यस्तै साउन १२ गते राति कचनकवल वडा नं ७ सिधागुरी टोल बस्ने ५० वर्षीय अरूण राजवंशीको घरनजिकै रहेको सिँचाईको मोटरमा तार जोडने क्रममा करेन्ट लागेर मृत्यु भयो । त्यसअघि गत असार २९ गते राति बिर्तामोड– १० पथरभिट्टा बस्ने ५३ वर्षीय पुष्प पोखरेलले आफ्नो नयाँ बनाउँदै गरेको घरमा पानी हाल्नको लागि मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर ज्यान गुमाए ।
त्यस्तै गत असार २२ गते साँझ ७ बजे बुद्धशान्ति वडा नं ३ सयपत्री टोल बस्ने ३९ वर्षीय रोशन जिमीले आफ्नै खेतमा रोपाइँ गर्नको लागि घरनजिकै रहेको पैनीबाट मोटर सेट गरी पानी तान्ने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भएको थियो ।
झापामा करेन्ट लागेर मृत्यु हुनेको संख्या उच्च छ । झापामा यो साउन महिनामा मात्र दुई पुरुष र एक महिलाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८१–०८२ मा करेन्ट लागेर झापामा १४ पुरुष र एक बालक गरी १५ जनाको मृत्यु भएको थियो ।
आफ्नै हेलचेक्र्याइँले विद्युतीय करेन्टबाट धेरैले ज्यान गुमाउने गरेका हुन् । कचनकवलका राजवंशी खेतमा पानी लगाउनका लागि नाङ्गो खुट्टा, हातमा टेप बोकी मोटर चालु गर्न गएका थिए । मोटरको एउटा तार चुँडिएकोले करेन्ट लागेर मृत्यु भएको हुनसक्ने स्थानीयको बुझाई रहेको छ ।
अव्यवस्थित रूपमा जडान गरिएको विद्युत लाइनमा आफैंले मोटर जडान गर्न खोज्दा करेन्ट लागेको हो । यो घटनासँगै कचनकवल गाउँपालिकामा पछिल्लो एक वर्षको अवधिमा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। सिंचाईको मोटरसंगै करेन्ट लगाएर माछा मार्दा पनि धेरैजनाले ज्यान गुमाएका छन् ।
अव्यवस्थित विद्युत जडान र सुरक्षाको बेवास्ता यस्ता घटनाका प्रमुख कारण बन्न पुगेका छन्। साउन ७ गते साँझ ७ः३० बजे गौरादह वडा न.७ गक्षामारी बस्ने ७७ वर्षीया तेजकुमारी उप्रेतीले आफ्नो गुवालीभित्र कुटी काट्ने मेसिनबाट कुटी काट्ने क्रममा अचानक बिद्युत सर्ट भई करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै कचनकवल– ७ बैगुनबारी बस्ने ६५ वर्षीय बिर्खनाथ खनालले आफैले लगाएको तारबारमा प्रबाह गरेको करन्ट लागेर ज्यान गुमाए । त्यस्तै साउन २ गते दिउँसो २ः२० बजे विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी दिपक पाण्डेलाई बिर्तामोडको पश्चिम स्टेण्डमा बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनले ज्यान गुमाए । यसरी असावधानीबश विजुलीको काम गर्दा धेरै अप्रिय घटना भएका छन् ।
विद्युतीय करेन्टबाट मानवीय क्षति मात्र भएको छैन , झापामा मानिसले थापेको विद्युतीय धरापबाट धेरै जंगली हात्ती मरेका छन् । सोही विद्युतीय धरापमा परी मानिस स्वयंले पनि ज्यान गुमाएका छन् । गत जेठ १९ गते राति कमल गाउँपालिका वडा नम्बर–३ मा रहेको रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा बिजुलीको फलामको पोलमा धकेल्दा माथिको तार सर्ट हुन गई करेन्ट लागेर एउटा हात्ती मरेको थियो ।
अव्यवस्थित विद्युतीकरणबाट हात्तीसंगै चौपाया पनि मरेका छन् । साउन १७ गते भद्रपुर वडा न. ५ झिम्की चोकमा बिजुलीको ट्रान्समिटरको भुइँमा गाडिएको तारमा करेन्ट सप्लाई भई पबित्रा यादबको गाभिन गाई मरेको थियो । त्यसअघि गत असार १४ गते कनकाई वडा नं. ५ बियर फ्याक्ट्रीमा बिजुलीको पोलबाट अचानक करेन्ट प्रवाह भई करेन्ट लाग्दा एउटा गाई मरेको थियो ।