झापा, साउन २३ । केही समययता झापामा विरामीको नाममा ठगी गर्नेहरुको संख्या बढ्दै गएको छ ।

आर्थिक अबस्था कमजोर भएर उपचार गराउन नसकेको भन्दै नक्कली सिफारिस लिएर घर–घर र पसल–पसलमा रकम ठगी गर्नेहरुको संख्या बढेपछि प्रहरी प्रशासनले कडाई गर्न थालेको छ । अटोमा माइकिङ गर्दै रसिद लिएर नक्कली विरामीको नाममा चन्दा उठाउने कार्यलाई विभिन्न व्यक्ति र समूहले कमाउने माध्यमको रुपमा लिएपछि प्रहरीले त्यसप्रति चासो लिएको हो ।

नक्कली विरामीको नाममा चन्दा उठाउँदै गर्दा बिर्तामोड प्रहरीले दुईजनालाई पक्राउ गरी मुद्धा दर्ता गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड वडा नं १ का १९ वर्षीय सरल तामाङ र सोही वडाका वर्ष १९ कै भुवन खड्का रहेका छन् । उनीहरुले “युवराज भोलन बचाउ अभियान समिति” को पोस्टर लिई चन्दा उठाउँदै हिडेका थिए । ललितपुर बागमती नगरपालिका वडा नं. २ बस्ने वर्ष ३७ का युवराज भोलन बोनम्यारो क्यान्सरबाट पीडित भई सिभिल सर्भिस अस्पताल काठमाण्डौमा उपचाररत रहेको हुँदा आर्थिक सहयोगको लागि भन्दै उनीहरु चन्दा उठाउँदै गर्दा पक्राउ परेका हुन् । उनीहरुको साथबाट सहयोग रसिद र “युवराज भोलन बचाउ अभियान समिति” को पोस्टर बरामद गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए ।

तीन दिनअघि पनि त्यसरी चन्दा माग्दै गर्दा एक महिलालाई बिर्तामोडमा पक्राउ गरिएको थियो । ती महिलालाई नियन्त्रणमा लिई आइन्दा त्यसरी चन्दा नउठाउने शर्तमा छोडिएको डीएसपी श्रेष्ठले जानकारी दिए । ती महिलालाई बिर्तामोड ३ का बासिन्दाहरुले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । रौतहट गढीमाई नगरपालिका वडा नं ८ का विरामीलाई आर्थिक सहयोग भन्दै ती महिलाले चन्दा उठाइरहेकी थिइन् । ती महिलाले सिफारिस बनाएको गढीमाई नगरपालिकाको ८ नं वडा कार्यालयमा फोन गरेर बुझ्दा आफ्नो वडामा त्यस नामको विरामी नरहेको र सिफारिस पनि नदिएको बताएपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको स्थानीय विशाल अधिकारीले बताए । उनले दुई जना महिलाले त्यसरी चन्दा उठाउँदै गरेकोमा एकजना भागेको जानकारी दिए ।

बिर्तामोड , दमक , मेचीनगरलगायतका शहरी क्षेत्रमा त्यसरी ठगी हिड्ने क्रम बढेपछि प्रहरी निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । उनले त्यसरी चन्दा उठाउनेहरुलाई पक्राउ गरी एकपटकका लागि नसिहत दिएर छोड्ने गरिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमातहतका सबै युनिटहरुलाई जिल्ला प्रशासन कार्यालयको सिफारिसबिना उपचारको लागि भन्दै चन्दा उठाएको पाइएमा पक्राउ गरी कार्वाही गर्न जानकारी गराइसकेको उनको भनाई छ ।

उपचारका लागि आर्थिक सहयोग संकलन गर्न सिफारिस दिनु गैरकानुनी भएकाले जिल्लाका स्थानीय तहहरुले सिफारिस दिन छोडिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्