
समयले कहिलेकाहीं हामीलाई अनपेक्षित मोडमा पुर्याउँछ, जुन मोडले नयाँ यात्राको ढोका खोलिदिन्छ । त्यस्तै पहिलो कोरोना महामारीको कालखण्ड एउटा मोड थियो, जहाँ जीवनको सामान्य लय अवरुद्ध हुँदा पनि जिम्मेवारीको स्पन्दन रोकिएन । त्यही कठिन समय थियो जब म, छविलाल दवाडीको साथमा समाचार लेखनको यात्रामा शिवगञ्ज झरेको थिएँ । त्यही बेला चन्द्रमणि पौडेल दाईको नेतृत्वमा हालको पुरानो बजारस्थित दुर्गा मन्दिरमा राहत वितरणका दृश्यहरू क्यामेरामा कैद भइरहेका थिए, अचानक एउटा मितिले मलाई रनभुल्लमा पार्यो, त्यो हो मन्दिरमा लेखिएको स्थापना मिति ।
त्यो बेला शिवगञ्जका मित्र दिनेश श्रेष्ठसँगको भेटघाट, केही अनौपचारिक तर अर्थपूर्ण संवादहरूले मेरो भित्री मनमा एउटा बीउ रोपिदिएको थियो ः इतिहास सम्झनुको, सम्झाउनुको । समय फेरिंदै गयो म फेरि शिवगञ्जमै रहेको नवकिरण विद्या मन्दिरमा अध्यापनको पथमा लागें । त्यही क्रममा कनकाई नदीको पवित्र धरातलमा थातिएको, धुलोमा हराएको, तर मनमा गाढा भएर बाँचेको इतिहासतर्फ नजर पुगेको थियो ।
‘कनिकुथी’ शब्दले संकेत गरेको स्मृतिका धागाहरू समात्दै मैले यो क्षेत्रको इतिहासलाई शब्दमा कैद गर्ने साहस गर्न थालेँ । जुन बाटो उकालो लाग्थ्यो, त्यही बेला साथीसङ्गीहरूबाट ‘यो त गर्नु पर्छ है !’ भन्ने हौसला झनै ऊर्जा बनिरह्यो ।
यो ऐतिहासिक लेखनमा नवकिरण विद्या मन्दिरका शिक्षकहरू हरि दाहाल, मेदनी रिजाल र राजनारायण ताजपुरियाजस्ता इतिहासप्रेमी ज्ञानी व्यक्तित्वहरूको साथ–सहयोगले यो कार्य सम्भव भयो । उहाँहरूको सुझाव, स्मृति र स्रोतप्रतिको माया नहुने हो भने मेरो यो खोजदृष्टि अधुरो नै रहन्थ्यो । उहाँहरूले गर्नुभएको यो सहयोग र हौसला मेरो पत्रकारिताको इतिहासमा सदैव अमिट छाप भइरहने छ ।
इतिहास भनेको केवल तिथि र तथ्यहरूको संकलन मात्र होइन, त्यो त भूगोल र भावनाको सम्मिलन हो, जहाँ हाम्रा पूर्वजका पाइला, सपना र संघर्षहरू समेटिएका हुन्छन् । त्यही चेतना बोकेर म प्रस्तुत छु—शिवगञ्जको गाथा, तिनको मौन इतिहासलाई बोलेको बनाउन ।
नेपालको पूर्वी तराईको हृदयमा बसेको शिवगञ्जको इतिहास शताब्दीसम्म फैलिएको छ । विक्रम संवत् १९६८ मा निर्मित दुर्गा मन्दिरले यस क्षेत्रमा मानव बसोबासको पुरातन उपस्थितिलाई प्रमाणित गर्छ । स्थापना कालदेखि नै यो मन्दिर केवल पूजा–आराधनाको थलो मात्र रहेन । यो त यहाँका मानिसहरूको श्रम, आस्था र सामूहिक भावनाले बुनिएको एकता र सहकार्यको प्रतीक बनेर उभिएको थियो । समयसँगै पिँधिँदै गए पनि यसको महत्व झन् बढ्दै गयो, आज पनि यो मन्दिर समुदायको साझा गर्व, समर्पण र सांस्कृतिक पहिचानको आधार स्तम्भ बनी अडिग छ ।
शिवगञ्जमा अवस्थित दुर्गा भवानीको मन्दिर स्थापनाको इतिहास लेख्नु भन्दा अगाडि नेपाल अङ्ग्रेजको युद्द जोड्नु आवश्यक छ । विकिपीडियामा भएको लेख अनुसार नेपाल– अङ्ग्रेज युद्ध (वि.सं. १८७१–७३) को क्रममा, ब्रिटिश फौजले हालको पूर्णिया र चम्पारण जस्ता बंगाल प्रेसिडेन्सी अन्तर्गतका क्षेत्रहरूबाट नेपालमाथि आक्रमण गर्न मेजर जनरल जोपन सुलिभन वुड र क्याप्टेन ल्याटरको नेतृत्वमा रणनीति बनाएको इतिहासमा पाइन्छ । यी कमाण्डरहरू पूर्वी मोर्चाबाट विशेषगरी इलाम, मोरङ (हालको विराटनगर) र झापा क्षेत्र हुँदै आक्रमण गर्ने जिम्मेवारीमा थिए ।
नेपालतर्फबाट उक्त आक्रमणको प्रतिकार गर्न गोर्खाली सेनाको पूर्वी मोर्चाको नेतृत्व जर्नेल उजिर सिंह थापाले गरेका थिए । उनी इलाममा खटिएका रणनीतिक अड्डाका प्रमुख थिए र उनले ब्रिटिश फौजको पूर्वी आक्रमणविरुद्ध मजबुत रक्षा गरेका थिए ।
उजिर सिंह थापाको नेतृत्वमा पहाडी क्षेत्र, तराई तथा स्थानीय जनशक्तिको सहायताले ब्रिटिश सेनाविरुद्ध बलियो प्रतिरोध गरेको थियो । उनी नेपालको इतिहासमा साहसिक, रणनीतिक र प्रेरणादायी सैन्य नेतृत्वका रूपमा स्मरण गरिन्छन् ।
समयसँगै अंग्रेजहरु नेपाल प्रवेश गर्ने क्रममा चिल्लागढसम्म पुगेको, तर चिल्लागढ क्षेत्र जित्न नसकी उल्टै नेपाली सेना कुमरखोद हुँदै हाल भारतको किशनगंज, अररिया र पूर्णिया जिल्लासम्म पुगेको प्रमाण पाउन सकिन्छ । भारतको किशनगंजमा रहेको “नेपालगढ” त्यस्तो प्रमाण हो, जसले बनाएपनि त्यहाँ गोर्खा फौज रहेका थिए । त्यस्तै त्यस भेगमा नेपाली गोर्खा फौजले बनाएका अस्थायी गढीहरूका भग्नावशेष यथावत रहेका छन् ।
पछि नेपालले सुगौली सन्धिपछि धेरै भूभाग गुमाएकोले यो भूभाग पनि गुमाएको हुनसक्ने अनुमान गर्न सकिन्छ । जसको प्रभाव किशनगंज जिल्लाको दक्षिण क्षेत्रसम्म राजवंशी, ताजपुरिया, गनगाई, मगर, सुनुवार र लिम्बु जातिहरू बसोबास गरेर बसेको पाइन्छ ।
तत्कालीन समयमा गोरखा सैनिकहरू दुर्गा भवानीको अधिक पूजा आराधना गर्ने भएकाले वि स १८७१ को कार्तिकदेखि नेपाल अङ्ग्रेज लडाइँ सुरु हुनुभन्दा अगाडि गोर्खा सैनिकहरूले हालको शिवगञ्ज पुरानो बजार छेउमा दुर्गा भवानीको मूर्ति स्थापना गरी पूजा गरेको अनुमान लगाउन सकिन्छ । मानिसहरूको बसोबास बढ्दै गएपछि त्यस ठाउँमा मूर्ति देखेको र पूजाआजा गर्दै जाँदा वि.स. १९६८ तिर त्यही स्थानमा मन्दिर स्थापना गरिएको हुनसक्छ । पछि उदयलाल अग्रवालका पिताले सो ठाउँमा काठको मन्दिर बनाई पूजा सुरु गरेको र पछिल्लो समय वि स २०५६ मा पुनर्निर्माण गरी हालको अवस्थामा देखिन आएको हो ।
त्यस्तै झापा जिल्लाको सांस्कृतिक बनोटमा कोच जातिको योगदान उल्लेखनीय छ । यो कुरा शिवगञ्जसंग पनि अछुतो छैन । कोच जाति भारतको असम र उत्तर बंगाल क्षेत्रका आदिवासी मूलका जाति हुन् । वि.सं. १८२० तिर बंगालका शासक मीर कासिमको शासनमा धार्मिक र सांस्कृतिक दमन बढेपछि विशेषतः टुप्पी नकाट्ने र कन्दनी नलगाउने परम्पराका कारण उनीहरूलाई लखेटियो । मुसलमानले लेखेट्दा गन्गाई जातिहरूले आफू जोगिनलाई सुँगुरको दाँतलाई माला बनाएर लगाउन थाले । जुन अहिसम्म यथावत रहेको पाइन्छ । यसरी कोचहरू उत्तर पूर्वतिर सरेर नेपाल प्रवेश गरेको इतिहासमा पाइन्छ ।
झापाको जंगलयुक्त, शान्त र जलस्रोतयुक्त क्षेत्र सुरक्षित लागेपछि उनीहरूले यस भेगका छेउछाउका स्थानहरू कुमरखोद, चिल्लागढ, समयगढ आदि ठाउँमा बसोबास गरे । यसरी कोच समुदायहरू माथि उल्लेखित क्षेत्रहरू खोज्दै र बसाइँसराई गर्दै अन्तत शिवगञ्ज र त्यसको आसपाससम्म आइपुगेको अनुमान तत्कालीन समयका तथ्य र प्रमाणले पुष्टि गर्छ । तर कुन तिथिमितिदेखि यस स्थानमा मानिसहरूको बसोबास सुरु भयो भन्ने कुरा अहिलेसम्म गर्भमा नै छ ।
अर्को इतिहास अनुसार राजा प्रताप मल्लले कोच बिहारकी राजकुमारीसँग विवाह गर्दा कोच बिहारका राजाले आफ्नी छोरीलाई सहयोग गर्न भनेर पशुपालन र खेतीमा दक्ष मानिसहरूलाई नेपाल पठाएको इतिहासमा वर्णन गरेको पाइन्छ । राजाले पठाएको कारणले गर्दा ती मानिसहरू राजवंशी भनेर चिनिन थाले । केही राजवंशीहरू काठमाडौं उपत्यकामा बसेर नेवार समुदायसँग घुलमिल भएकाले नेवार जातिभित्र राजवंशी थर पाइन्छ । यी नेवारी राजवंशीहरु विर्तामोड, भद्रपुर क्षेत्रमा अहिले पनि पाइन्छन् ।
पुराना बासिन्दाहरूका अमूल्य सम्झनाहरूले यस क्षेत्रको इतिहासलाई अझ जीवन्त बनाएको छ । हालको शिवसताक्षी ६ किसन गाउँका ८६ वर्षीय किसन ताजपुरियाका अनुसार उनका जिजु बाजेको पालोदेखि नै यहाँ बसोबास भएको सम्झना छ । बुबा सुकालाल र आमा चापो ताजपुरियाका छोरा उनले करिब ८० वर्षअघि शिवगञ्जमा रहनेमा पहलमान ताजपुरिया, कोटी गणेश, भीम राजवंशी , टेक बहादुर अधिकारी (अधिकारी महाजन), नुनिया राजवंशी, हरिलाल ताजपुरिया, बन्दप्रसाद ताजपुरिया जस्ता व्यक्तित्वहरूको सम्झना गर्नुहुन्छ । उहाँका अनुसार त्यसबेला दुर्गा मन्दिरमा मधेसी माली (पुजारी) थिए । उनी मूर्ति बनाउनमा निपुण थिए । संभवतः उनैले दुर्गाको मूर्ति बनाएको हुनसक्छ । मन्दिरको पूर्वपट्टि ठूला–ठूला वरपिपलका रूखहरू भएको उहाको कथन छ । ती रूखहरूलाई कनकाई नदीको कटानले इतिहासमा विलीन गरायो ।
उद्योग वाणिज्य सघका निवर्तमान अध्यक्ष भोला मैनालीलाई उहाँको बुबाले सुनाए अनुसार हालको शिवगञ्ज बजारको मुटुमा रहेको हनुमान मन्दिर भएको स्थान आसपासमा कपूर थान रहेको थियो । कुनै समय चिहान डाँडा नामले चिनिन्थ्यो रे शिवगञ्जको नयाँ बजारलाई । बजार क्षेत्रको भूभाग कोष्ठीया राजवंशी, कोटी गणेश, बाङ्गेश्वरी राजवंशी, कच्छु राजवंशी रहेको र उनीहरूबाटै जग्गा किनेर बजार बसोबासको अर्को अध्याय शुरू भएको मानिन्छ ।
त्यस्तै हालको शिवसताक्षी ५ का भेलामुनी गाउँका ८५ वर्षीय सूर्यलाल र ८२ वर्षीय अगमलाल ताजपुरियाको अनुभवमा दुर्गा मन्दिरको तलतिर दक्षिण पूर्वपट्टीको नयाँ पुलको तलतिर जमिन्दारहरूको हात्तीसार थियो । एक दर्जन जति सरकारी हात्ती बाँधेर चराउने जिम्मा चितवनका चौधरीहरूलाई दिइएको थियो । त्यस्तै उनीहरूको सम्झनामा त्यो बेला आसपास घना जंगल र यस भेगका जमिन्दारहरूको काम गर्न दरभंगाबाट बिहारीहरू आउने जाने गरेको देखेको बताउँछन् ।
हाल ८४ वर्ष पुगेका देहजुरा ताजपुरियाका अनुसार चन्द्र शमशेर सिकारको लागि यस भेगमा थुप्रै समय व्यतीत गरेको बताउँछन् । उनको भनाइमा “फिस्टे सरकार“ अर्थात् चन्द्र शमसेर शिकार खेल्न आउने भनेपछि माईखोलामा पुल बनाउन आफ्नो काकासंग गएको याद छ । उनका अनुसार चन्द्र शमशेरले यस ठाउँमा शिकार खेल्न आउँदा स्थानीयहरूको सहयोगमा ठूला–ठूला सिसौ र सखुवाका रूखहरू काटेर माई नदीमा पुल बनाएको स्मृति अझै जीवित छ ।
त्यसका साथै आफ्ना बुबाले सूर्ती बेच्न मधुमल्ला र शनिश्चरे बजारमा बयलगाडामा पुगेको र फर्कंदा पहाडी उत्पादनहरू ल्याएको सम्झना छ । तत्कालीन समयको नाटकका प्रसिद्ध जोकर देहजुराबाट प्रभावित भएर बुबाले आफ्नो नाम देहजुरा राखेको बताउने उनी स्थानीय कलाकारहरूको सांस्कृतिक गतिविधिका साक्षी पनि हुन् ।
दोस्रो विश्वयुद्धको समयमा फैलिएको महामारी (विफर र हैजा) अनि औलोले यस क्षेत्रका धेरै मानिसहरूलाई सर्लक्कै निलेको जानकारहरू बताउँछन् । पहिलेका मानिसहरू झुप्पा झुप्पा भई समूह बनाएर बस्ने क्रममा भेलामुनी, किसन गाउँ र पाँचगाछी लगायत विभिन्न स्थानका अधिकांश मानिसहरूको मृत्यु भएपछि बाँचेकाहरू शिवगञ्ज आसपास आएर बसोबास गरे । यसरी प्राकृतिक विपत्तिले पनि शिवगञ्जको जनसंख्या वृद्धिमा योगदान पु¥यायो । विफर, हैजा र औलो जस्ता महामारीको त्रासदी पनि यी पुराना बासिन्दाहरूको सम्झनामा गहिरो छाप छोडेको छ । अतित सम्झदै किसन ताजपुरिया भन्छन “ बुबा, हजुरबुबाका दाजुभाइ लगायत सबैलाई विफरले लग्यो । त्यो बेला झमक राजवंशी र चान फाउदार राजवंशी जस्ता गोसाई (झाक्री) हरूले झारफुक गरेर रोग निको पार्ने कोसिस गरेको याद छ ।”
किसन, सूर्यलाल, अगमलाल र देहाजुरा ताजपुरियाको भनाई एउटै छ । उनीहरू जन्मिदा उनीहरूका हजुरबुबाहरू यही क्षेत्रमै कुटो कोदालो गर्थे भन्नुको अर्थ यस भेगमा करीब २ सय वर्ष अघिदेखि मानिसको बसोबास भएको अनुमान लगाउन सकिन्छ ।
पूर्वमा कनकाई नदी शरणमती आसपास बग्दथ्यो । पूर्व–पश्चिम राजमार्गको निर्माण क्रममा कनकाई नदीमा पुल बनेपछि माई नदीले आफ्नो धार बदल्यो । यसले शिवगञ्जको पुरानो बजारको अधिकांश भूमिलाई बगरमा परिणत गर्यो । यो भौगोलिक परिवर्तनले स्थानीयहरूको जीवनशैलीमा महत्वपूर्ण प्रभाव पारेको थियो र छ पनि । यी सबै परिवर्तनहरू पुराना बासिन्दाहरूको स्मृतिमा अझै जीवित छन् ।
शिवगञ्जको व्यापारिक इतिहास अत्यन्त समृद्ध छ । दुर्गा मन्दिरको आसपासमा हप्तामा दुई पटक आइतबार र बुधबार हाट लाग्ने गर्दथ्यो । यो हाटले स्थानीय कृषकहरूलाई आफ्ना उत्पादनहरू बेच्ने अवसर प्रदान गर्दथ्यो । तर धान, पाटा बेच्न भने स्थानीयहरूले गोरुगाडामा हालेर भद्रपुरसम्म पुगेर व्यापार गर्ने गरेको सुन्न पाइन्छ । यस क्षेत्रमा तत्कालीन समयका व्यापारीहरूमा गोपीलाल अग्रवाल, मोहनलाल मैनाली, तिकुराम मित्तल, इन्द्रचन्द अग्रवाल, ममन चन्द अग्रवाल, उदयलाल अग्रवाल जस्ता नामहरू उल्लेखनीय छन् । केही पश्चिमा (बिहारी) हरू भारतबाट आएर हाटमा सामान्य घरायसी सामानहरू समेत बेच्ने गरेको जानकारहरू बताउँछन् ।
तत्कालीन समयमा शिवगञ्जका मानिसहरूको सांस्कृतिक चेतना अत्यन्त उच्च थियो । यहाँका कलाकारहरूले महाभारतको नाटक मञ्चन गरेर माई पूर्वका अधिकांश गाउँका मानिसहरूलाई मनोरञ्जन प्रदान गर्दथे । किसन ताजपुरिया जोसिदै भन्छन् “ तत्कालीन समयमा पुरानो बजारमा तीन चार गाउँका केटाहरू भेला भएर महाभारत नाटक गरेको हो । नाटक गर्नेहरूमा केहीको नाम विर्से पनि त्यसमा आफू विराट राजा भएको, भागवत ताजपुरिया (भीम), गजा राजवंशी (युधिष्ठिर), कोमल सिङ राजवंशी (द्रौपदी), चन्द्रडाँगीका राजवंशी भाइ (अर्जुन) थिए ।
यस्ता विवरणहरूले शिवगञ्जको त्यतिबेलाको समृद्धि र महत्वलाई झल्काउँछ । त्यस्तै उनमा भएको याद अनुसार सबै नियम कानून तत्कालीन समयका प्रमुख समाजसेवी जिमदार, पट्वारीकै हातमा थियो । किसन, सूर्यलाल भन्छन् ः भारत जाँदा उनीहरूलाई कहाँबाट आएको भनेर सोधिन्थ्यो रे ! उनीहरूले नेपाल नभनी शिवगञ्ज भन्दा उनीहरू चुपचाप लाग्थे रे । यो भनाइबाट तत्कालीन समयमा भारतको प्रसिद्ध बजारहरूमा शिवगञ्जको नाम लोकप्रिय थियो ।
पछि विक्रम संवत् २०२० साल आसपास यस क्षेत्रमा अन्यत्रबाट बसोबास गर्न आइपुग्ने व्यक्तित्वहरूमा भवानी भट्टराई, शुभनारायण लाल कायस्थ, प्रभुराम ढकाल, सीताराम अग्रवाल, रविलाल भेटवाल, तुलसी भेटवाल, पुष्पराज पौडेल, बस्नेत थरका एकजना जस्ता व्यक्तित्वहरू रहेको पुण्यप्रसाद ढकालको भनाई छ ।
शिवगञ्जको इतिहास नेपालको पूर्वी तराईको सामाजिक, सांस्कृतिक र आर्थिक विकासको साक्षी हो । यहाँको दुर्गा मन्दिर आजसम्म श्रद्धालुहरूको मनोकामना पूरा गर्ने ठाउँको रूपमा प्रसिद्ध छ । विभिन्न जातजातिका मानिसहरूको मेलमिलापले बनेको यो बजारले नेपालको एकताको परम्परालाई निरन्तरता दिइरहेको छ । पुराना बासिन्दाहरूका यी अमूल्य सम्झनाहरूले एक शताब्दी अघिको समृद्ध इतिहासलाई जीवन्त बनाएको छ ।
अन्त्यमा इतिहास लेख्नु भनेको केवल अतीतको कागजी चित्रण होइन, त्यो त भावनाको धागोले बाँधिएको स्मृतिको यात्रा हो, जहाँ शब्दहरू कहिलेकाहीं झस्किन्छन्, नामहरू ओझेलमा पर्न सक्छन् र कतिपय क्षणहरू लेखिन नपाएर मनभित्र नै थुनिन्छन् । यस अभिलेखमा कुनै महत्वपूर्ण पात्र छुटेको हुन सक्छ, कुनै योगदान उल्लेखित नभएको हुन सक्छ, तर ती सबैको म मौन कदर गर्दछु ।
समयसँगै सम्झनाहरू प्रगाढ बन्छन्, नयाँ तथ्यहरू उजागर हुन्छन्, अनि इतिहास पनि परिमार्जन र परिपूर्णताको बाटोमा अघि बढ्छ । त्यसैले, यस दस्तावेजलाई अन्तिम होइन, निरन्तर प्रवाहमा बगिरहेको नदीका रूपमा हेर्न अनुरोध गर्दछु, जहाँ आज छुटिएका बुँदाहरू भोलिको तरङ्गमा समेटिनेछन् ।
स्मृति, तथ्य र भावना समेटिएको यस प्रयासमा सबैका सुझाव, सहकार्य र सहिष्णुताको अपेक्षा गर्दै, म यो लेखनीका केही बिन्दुहरू खुल्ला राखेर यहीँ विराम दिन चाहन्छु तर अधुरो होइन, सम्भावनायुक्त पूर्णताको दिशामा उन्मुख एक ऐतिहासिक कोसिसका रूपमा ।
यो ऐतिहासिक लेखलाई शब्दमा उतार्ने प्रयासमा कतै केही छुटेको हुन सक्छ, कतै केही अधुरो रहन गएको हुन सक्छ ।
यसलाई पूर्णता दिन तपाईंहरूको अमूल्य सुझाव, थप जानकारी वा स्मृतिका झिल्काहरूको अपेक्षा छ ।
लेख पढिसकेपछि तपाईंले देखेका त्रुटि, छुटेका नाम वा योगदानका कुनै पक्षहरू छन् भने कृपया टिप्पणी वा सन्देशमार्फत जानकारी गराइदिनुहोस् ।
तपाईंहरूको प्रत्येक सुझावले यो लेखलाई अझ विश्वसनीय, समृद्ध र सजीव बनाउनेछ । मेरो अनुरोध हाम्रो साझा इतिहासलाई सँगै समेटौं, सँगै जोगाऔं ।