झापा, साउन २५ । विगतमा धुमधामले मनाउने गरिएको विश्व आदिवासी दिवस यस वर्ष झापाका आदिवासी जनजातिहरुले एकजुट भएर मनाएनन् ।

सँधै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाले कार्यक्रम गर्ने गरेकोमा यस वर्ष कार्यक्रम नै गर्न सकेन । अचम्मको कुरा यो छ कि यस वर्षको ३१औं विश्व आदिवासी दिवसको अवसरमा कोही अध्यक्ष र कोही कार्यबाहक अध्यक्ष भएर दुईजना पालिकास्तरका दुईवटा कार्यक्रममा सहभागी भए ।
पाण्डवलाल चौधरी नेपाल आदिवासी जनजाति महासंघ बाह्रदशी गाउँ समन्वय परिषदको आयोजनामा बाह्रदशी –५ चकचकीस्थित जेष्ठ नागरिक संघको सभाहलमा भएको कार्यक्रममा अध्यक्षको हैसियतमा सहभागी भए । चौधरी विशेष अतिथि रहेको त्यस कार्यक्रममा बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्ता शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता आदिवासी जनजाति महासंघ बाह्रदशीका अध्यक्ष लक्ष्मी राजवंशीले गरेका थिए ।

उता मेचीनगर –८ स्थित किरात याक्थुङ चुम्लुङ भवनको सभाहलमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेचीनगरको आयोजनामा भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ झापाको कार्यवाहक अध्यक्षको हैसियतमा केवलराम राई प्रमुख अतिथि बने । त्यस कार्यक्रममा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेचीनगरका अध्यक्ष राम वाइवा तामाङको अध्यक्षता रहेको थियो ।
यसरी जिल्ला महासंघले विवादका कारण विश्व आदिवासी दिवसमा समेत कार्यक्रम नगरी अध्यक्षको दावी गर्दै दुईजना दुईवटा कार्यक्रममा गएपछि धेरैले आलोचना गरेका छन् । यस पालीको विश्व आदिवासी दिवस एकलकाटे भएको महासंघका पूर्व सचिव वीरेन मेचेले प्रतिक्रिया दिएका छन् ।

विगतमा झापामा दह्रो शक्तिको रुपमा रहेको आदिवासी जनजाति महासंघ आपसी विवादका कारण धरासायी बन्दै गएको हो ।
जिल्ला समन्वय परिषदमा रहेका पदाधिकारीहरुबीचको कलहकै कारण महासंघले विगत तीन वर्षदेखि गतिविधि नै गर्न सकिरहेको छैन । महासंघका अध्यक्ष चौधरीसंगको आपसी मनमुटावका कारण पदाधिकारीहरुबीच बोलचालसमेत बन्द भएको छ । चौधरीलाई अन्य पदाधिकारीहरुले बैठकमा बोलाउन छाडेका छन् । उनलाई अध्यक्षबाट हटाएको भन्दै उपाध्यक्ष केवलराम राईले कार्यवाहक अध्यक्ष भएर चलाइरहेका छन् भने चौधरीले विधानसम्मत आफूलाई हटाउन नमिल्ने दावी गर्दै आएका छन् ।
तीन वर्षअघि बिर्तामोड उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवदेखि महासंघका पदाधिकारीहरुबीच मनमुटाव शुरु भएको एक पदाधिकारीले बताए । दुई वर्षअघि चौधरीको लाहुर्निपसंग विवाद परेपछि झन् चर्किएको थियो ।
अध्यक्ष चौधरीको क्रियाकलापबाट महासंघ धरासायी बनेको अन्य पदाधिकारीहरुको आरोप छ । आर्थिक रुपमा पारदर्शी नहुने , आफूखुशी गर्न खोज्ने ,अराजकता देखाउने , अनुशासनमा नबस्नेजस्ता आरोप चौधरीमाथि लागेको हो ।
आदिवासी जनजाति महासंघ झापामा २३ वटा जातिहरु आवद्ध छन् । जातीय संस्थाका प्रतिनिधिहरुले महासंघको विवाद मिलाउने प्रयास गरेका थिए । तर, सकेका छैनन् । विवादमै चौधरीको कार्यकाल सकिएको छ ।