झापा, साउन २६ । झापाको कचनकवल गाउँपालिका–१, मगरमारा बाभनटोलीस्थित भुतेश्वर बाबा महादेव मन्दिरमा आज साउन महिनाको अन्तिम सोमबार भक्तजनहरुको भीड लाग्यो ।

साउनको अन्तिम सोमवार आयोजित विशेष मेलामा भक्तजनहरूले पूजाअर्चना गर्दै यस वर्षको श्रावण पर्व सम्पन्न गरेका छन् ।
परम्परागत रुपमा प्रत्येक वर्ष श्रावण महिनाभर सोमवारका दिन यस मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । हिन्दू धर्मावलम्बीहरू यो महिनाभर शाकाहारी भई सोमवार व्रत बस्ने र शिवालयमा जल अर्पण गर्ने प्रचलन छ। यसरी व्रत बसेर भगवान शिवको पूजा गरे दीर्घायु, सुख र शान्ति प्राप्त हुने विश्वास गरिन्छ।

यस मन्दिरमा भद्रपुर, बाह्रदशी, झापा गाउँपालिका , शिवसताक्षी , गौरीगञ्ज, बिर्तामोड , मेचीनगरलगायत आसपासका पालिकाका साथै छिमेकी जिल्ला र भारत किशनगञ्जसम्मका भक्तजनहरू पूजा गर्न आउने गरेका छन्। मेलामा सहभागी भएका भक्तजनहरूको सहजताका लागि मन्दिर समितिले उचित व्यवस्था मिलाएको थियो । मन्दिर परिसरमा सरसफाइ, सुरक्षा तथा भीड व्यवस्थापनका लागि स्वयंसेवक टोली परिचालन गरिएको थियो। भक्तजनहरूलाई निःशुल्क प्रसाद वितरणसमेत गरिएको थियो।

मन्दिर समितिले धार्मिक अनुशासन पालना गर्दै आस्थापूर्वक पूजा अर्चना गर्ने सबै भक्तजनप्रति आभार व्यक्त गरेको छ। श्रावण महिनाभर हजारौँ श्रद्धालुहरूको उपस्थितिले मन्दिर क्षेत्रमा धार्मिक उत्साहको वातावरण बनेको थियो। सहभागीहरूको भनाइमा तीनै तहका सरकारले योजनाबद्ध रूपमा काम गरे यस क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिन्छ। भुतेश्वर मन्दिर मेलाको लागि कचनकवल गाउँपालिकाले आज स्थानीय विदा दिएको थियो ।

