झापा, साउन २६ । झापाको बिर्तामोड ३ स्थित मेची आँखा अस्पतालनजिकै मेचीवान होटलबाट लागूऔषधसहित पाँचजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।


आज दिउँसो ४.३० बजे होटलको दोस्रो तलाको कोठाभित्र लागूऔषध बिक्री बितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक पदम विष्टको टोली खटिएर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिर्तामोड वडा न.८ बस्ने २४ वर्षीय पंकज मैनाली , सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज पौडेल , भद्रपुर वडा न. १० बस्ने ४० वर्षीय शंकर चिमरिया , हल्दिवारी वडा न.४ बस्ने ३४ वर्षीय प्रदिप राई र हुम्ला नाम्खा गाउँपालिका वडा नं. १ दिङगा बस्ने ३५ वर्षीय राजु लामा रहेका छन् ।

उनीहरुको साथबाट प्लाष्टिकसहित १ ग्राम २७० मिलिग्राम ब्राउनसुगर , विभिन्न कम्पनीका मोबाइलहरु र नगद बरामद भएको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

त्यस्तै आज दिउँसो ४ बजे झापा गाउँपालिका ४ स्थित सुकुमबासी टोलमा भारतबाट नेपालतर्फ मे ७ प ६८३२ नं. को मोटरसाइकलमा आउँदै गरेको अवस्थामा प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा अर्जुनधारा ९ मिलन चोक बस्ने ३१ वर्षीय अनिल राईको साथबाट प्लाष्टिकसहित ५ ग्राम १० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई उनलाई प्रहरी चौकी टाघनडुब्बामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्