झापा,साउन २८ । जल तथा मौसम विज्ञान विभागले सुनसरी र इलामका नदीहरूमा जलसतह सतर्कता तह पार गरेको जानकारी दिएको छ।

विभागका अनुसार, बुधबार बिहान ३ः१५ बजे सुनसरी जिल्लास्थित सार्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा छ। यस कारण नदी तटीय क्षेत्र तथा डुबानको सम्भावना हुने होचा भू–भागमा बसोबास गर्ने स्थानीयलाई बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
यस्तै, इलाम जिल्लास्थित माई खोला चिसापानी जलमापन केन्द्रको जलसतह पनि सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको विभागले जनाएको छ। नदी तटीय क्षेत्रमा बस्ने र डुबानको जोखिम हुने स्थानका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।