झापा, भदौ १ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको गौरीगञ्जमा आयोजित दोस्रो ठेकीटोला म्याराथुन प्रतियोगितामा नागेश्वर ऐर र पुष्पा शेर्मा लिम्बू विजेता बनेका छन् ।

आज बिहान गौरीगञ्ज ३ स्थित ठेकीटोलाबाट सुरु भई गौरीगञ्ज ६ स्थित चिल्हारा चोकदेखि पुनः ठेकीटोलासम्मको १२ किलोमिटर दुरीको म्याराथनमा आ–आफ्ना प्रतिष्पर्धीहरुलाई हराउँदै नेपाल प्रहरी क्लव काठमाडौका नागेश्वर ऐर र झापा दमककी पुष्पा शेर्मा लिम्बू विजेता बनेका हुन् । ४१ मिनेट १६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै ऐरले २१ हजार नगद , जर्सी ,मेडल र प्रमाणपत्र जितेका छन् भने महिलातर्फ प्रथम भएकी लिम्वूले १ घण्टा २ मिनेटमा दुरी पार गर्दै ६ हजार ५०० नगद , जर्सी , मेडल, प्रमाणपत्र हासिल गरेकी छन् ।

त्यस्तै पुरुषतर्फ मोरङ लेटाङका बिक्रम लिम्वू दोस्रो भए । उनले १० हजार नगद पुस्कार पाए भने तेस्रो हुने पाँचथर निवासी भारतीय सैनिक मिसान आङदम्वेले ५ हजार नगद पुरस्कार हात पारेका छन् । प्रतियोगिताका टप टेनलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । त्यस्तै महिलातर्फ दोस्रो हुने मोरङ उर्लावारीकी मन्दिरा महताराले २ हजार १०० र तेस्रो हुने दमककी यादिका देवानले १ हजार १०० रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

म्याराथुनमा महेन्द्र पुलिस क्लव काठमाडौ , अरिदमन गण चारआली ब्यारेक , पश्चिम जुम्लाका धावक ,सशस्त्र प्रहरी वल वि.ओ.पी.गौरीगञ्जका सशस्त्र प्रहरी कर्मचारी , इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी कर्मचारी,स्थानीयलगायत गरी करिव १९० जना धावकले भाग लिएका थिए । उनीहरुलाई प्रमुख अतिथि र अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । ठेकीटोला युवा समूह गौरीगञ्ज ३ को आयोजनामा भएको प्रतियोगिताको समापन कार्यक्रममा समूहका अध्यक्ष सुशिल राईको अध्यक्षता तथा गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर , गौरीगञ्ज ३ का वडाध्यक्ष श्रवण गिरी , गाउँपालिकाका पूर्व उपाध्यक्ष दिपेन्द्र थापा , गौरीगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष रुपक श्रेष्ठ, गौरीगञ्जका सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्