झापा,साउन २ । मनसुन सक्रिय भएसँगै ‘माइट’ नामक सूक्ष्म किराको टोकाइबाट सर्ने स्क्रब टाइफसका बिरामी देशभरका ५० जिल्लामा देखिएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक महिनायता मात्र यसबाट १ हजार ४ सय १४ जना सङ्क्रमित भएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा यो रोगका बिरामी छिटपुट मात्रामा भर्ना भइरहेको अस्पतालले जनाएको छ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाका कारण हुन्छ । मुसामा पाइने माइट (एक प्रकारको सानो सुलसुले) मार्फत यो ब्याक्टेरिया मानिसमा सर्ने गर्छ ।
महाशाखाका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा देशभर ८ हजार २४९ जनालाई यासको सङ्क्रमण भएको पाइएको थियो ।
सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनका अनुसार जब मानिस झाडी वा घाँस भएको ठाउँमा जान्छ, त्यहाँ रहेका माइटले टोकेपछि यो रोग लाग्ने गर्छ । महाशाखाका निर्देशक डा. चन्द्रभाल झा पनि विशेषगरी झाडी, खेतबारी र घाँसे मैदानमा काम गर्ने व्यक्तिहरू यसको उच्च जोखिममा रहने बताउँछन् ।
यो रोग खासगरी ग्रामीण क्षेत्रमा बढी देखिने उनको भनाइ छ । बर्खामा बस्तुभाउ चराउन लैजादाँ, जङ्गल खेतबारीमा दाउरा घाँस काट्न जाँदा स्क्रब टाइफसको सङ्क्रमण हुन सक्छ । गोठमा बस्तुभाउको स्याहार सम्भारका क्रममा पनि यो रोग लाग्न सक्ने चिकित्सकहरू बताउँछन् ।