झापा,भदौ २ । नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले स्वास्थ्य सेवाका कर्मचारीहरूका मागहरू समेत सङ्घीय निजामती विधेयकमा समेटेर लैजानुपर्ने माग राखेका छन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमबारको बैठकमा सङ्घीय निजामती सेवा विधेयकमाथि सैद्धान्तिक छलफलमा बोल्दै भट्टराईले विधेयमा साना तथा निजामती सेवा बाहिरका कर्मचारीहरूलाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राखेका हुन् ।
उनले भने, ‘यो विधेयकले अहिले सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने यसको उद्देश्य देखिन्छ । त्यसका लागि विधेयकले राम्रो काम गरेको जस्तो देखिन्छ । विधेयकले साना कर्मचारीहरू र निजामतीभन्दा बाहिर पारिएका कर्मचारीलाई कसरी समेट्ने भन्ने पनि छन् । यसमा हामीले नपुग भएका कुराहरूमा संशोधन पनि हालेका छौँ । अहिलेसम्मका विधेयकहरू सही ढङ्गले पास भएका छन् ।’
उनले कुलिङ अफ पिरियडबारे थप आवश्यक छलफल गर्नुपर्ने धारणा राखे । उनले थपे, ‘यो विधेयक पनि सोही ढङ्गले अगाडि बढ्छ भन्ने विश्वास छ । स्वास्थ्य सेवाका कर्मचारीहरूले पनि यही विधेयकमा बस्नुपर्छ भन्ने माग राखेका छन् । उनीहरूसँग पनि छलफल गर्नुपर्छ । यो विधेयकलाई समृद्ध बनाएर लैजाने कुरामा प्रतिबद्ध हुनुपर्छ । छौँ । अब कुलिङ अफ पिरियडबारे पनि थप छलफल आवश्यक छ । त्यसका लागि पनि दफावार छलफलमा थप कुरा राख्नुपर्छ ।’