झापा, भदौ २ । करिव अढाई महिना जेल बसेर रिहा भएका नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं राष्ट्रिय प्रजातन्त्र पार्टीमाथि खनिएका छन् ।

उनले राप्रपासंगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि समेत गंभीर आरोप लगाए । ७८ दिन जेल बसेर रिहा भएका प्रसाईले आज पहिलो पटक पत्रकार सम्मेलन गरी गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले मिलेर छुरी हानेको आरोप लगाएका हुन् ।
आफ्नो निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईले भने ‘राप्रपाका राजेन्द्र लिङ्देन दाईलाई म के भन्छु भने यो त बैंक ठग हो हजुर बैंक ठग हो भन्थे । उसलाई भन्दिनु १५ गते जुन धोका दियौँ । अब जीवनमा तिमीले धोका दिन सक्दैनौँ । मलाई १५ गते राप्रपाले मिलेर छुरी हानेको छ । म बाँच्न सफल भएको मान्छे हो ।’ उनले राप्रपा अध्यक्ष लिङ्देनलाई गाडी चोरेर पाटपुर्जा बेच्ने परिवारको संज्ञा दिएका छन् । लिङ्देनलाई भारतबाट गाडी चोरेर ल्याएर झापामा काटेर बेच्ने परिवारसँग जोडेर उनले आरोप लगाएका हुन् ।
लिङ्देनले आफूलाई बैंक ठग भनेर लगाएको आरोपको जवाफ दिँदै प्रसाईले बैंकहरुको अहिलेसम्म ब्याज तिरिरहेको कहिकतै कालोसूचीमा नरहेको दावी गरे ।
राज्यसत्ता आफ्नो आन्दोलनबाट आत्तिएकाले विभिन्न लाञ्छना लगाएको समेत उनले दावी गरे । ‘हाम्रो अभियानले आम नागरिकलाई सचेत गरायो । चैत १५ गते मार्छन् भन्ने हामी सबैलाई थाहा थियो । म तयारीसाथ गएको थिएँ । तीनकुने पुग्नु ४५ मिनेट अगाडि नै गोली चलेको थियो । मञ्चको पछाडिको घरबाट गोली मलाई चलाएको थियो । अघिल्लो दिन नै तलाई मार्छ भनेको थियो । राज्यसत्ता हामीसँग डरायो । जो नयाँ शक्ति आउँछ, राज्यसत्ता डराउँछ’, उनले भने, ‘धक्कामुक्का नगर्नोस् भन्दाभन्दै पनि गोली चलायो । मलाई इन्काउन्टर गर्ने आदेश रहेछ ।’
प्रसाईंले आफ्नो पालो नआउने देखेर नै राजा वीरेन्द्र र एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मारिएको आरोप समेत लगाउन भ्याए । ‘यो देशमा मदन भण्डारी बाँचेको भए अरूको चान्स आउने थिएन । राजा वीरेन्द्रलाई नमारेको भए हिन्दु राष्ट्रको अस्तित्व जाने थिएन । यहाँ कसरी कुर्सी तान्ने, सत्ताको लुछाचुँडी गर्ने यी सबै खेल भइरहेको छ ’ उनले भने ।उनले राजनीतिक पार्टी खोल्ने र पार्टीको नाम छिट्टै घोषणा गर्ने बताएका छन् ।