प्रकाशचन्द्र दाहाल
झापा । दमक नगरपालिका वडा नं. ३ मा पर्ने चुलाचुली– ढुङ्गे सडकमा स्थानीयको सक्रिय सहभागिताबाट सडक किनाराको झाडी सरसफाई गरिएको छ ।

त्यहाँ झाडी सफाई गरी बाटोको अवरोध हटाउने कार्य भइरहेको हो ।१२ वटा टोल विकास संस्थाहरूको अगुवाइमा झाडी सफाई तथा सडकका अवरोधहरू हटाउने कार्य गरिएको वडाध्यक्ष नवीन बरालले बताए । आइतबारको श्रमदान कार्यक्रममा स्थानीय बासिन्दाहरूले सक्रिय रूपमा भाग लिएका थिए । सडकको सरसफाई र अवरोध हटाउने कार्यबाट आवतजावतमा सहज भएको छ । त्योसंगै वातावरणीय सुधारमा योगदान पुगेको स्थानीयहरूले बताएका छन् ।
त्यस क्षेत्रका समाजसेवी जीवन तामाङलगायत टोल विकास संस्थाका प्रतिनिधिहरूका अनुसार यस्ता कार्यक्रमहरूले समुदायमा एकता र विकासको भावना बढाएको छ ।
यो सडक दमक क्षेत्रको महत्वपूर्ण यातायात मार्ग हो, जसमा नियमित सरसफाई नहुँदा यातायातका साधन र यात्रुहरूलाई असुविधा हुने गरेको थियो । श्रमदान कार्यक्रमको सफलताले अन्य वडाहरूमा पनि यस्ता पहलहरू बढाउने अपेक्षा गरिएको छ ।