झापा, भदौ २ । सडक दुर्घटना भइहाले उद्धारको निहुँ पारेर चोरी गर्न सकिन्छ कि भनेर नियत भएका व्यक्तिहरु समाजमा धेरै छन् । त्यस्ता व्यक्तिहरुको फेला पर्दा दुर्घटनामा परेका धेरै घाइते र मृतकहरुको नगद, गरगहना र अन्य सामान हराएको छ । उद्धारको निहुँमा चोरी गरेपनि त्यस्ता व्यक्तिहरु विरलै कानुनी कार्वाही पर्ने गरेका छन् । तर, झापा शिवसताक्षीको झिलझिलेमा दुर्घटनामा परेका घाइतेको गहना चोरी गर्ने दुईजनालाई पत्ता लगाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन २९ गते कमल गाउँपालिका वडा नं. ६ बस्ने ३० वर्षीय मनोज लिम्बू दोमुखाबाट घरतर्फ फर्कने क्रममा शिवसताक्षी नगरपालिका वडा नं. ८ स्थित झिलझिले बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए । स्थानीयहरुले देखेर एम्बुलेन्समा हाल्दै गर्दा घाइते लिम्बूले घाँटीमा लगाएको ५६ ग्राम २५ मिलिग्रामको सुनको सिक्री हराएको थियो ।
उनले साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन दिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा उक्त सुनको सिक्री घाइतेको उद्धारमा संलग्न शिवसताक्षी नगरपालिका वडा नं. ८ बस्ने २८ वर्षीय सुरज हलुवाई र सोही ठाउँ बस्ने २६ वर्षीय गोबिन हाङ लिम्बूले चोरी गरी लगेको खुल्न आएको थियो ।
उनीहरुलाई खोजी गर्ने क्रममा ३९ ग्राम २२ मिलिग्राम तौल भएको सुनको सिक्रीको टुक्रा र नेपाली नगद ३० हजारसहित हिजो साँझ ६ः३५ बजे शिवसताक्षी नगरपालिका वडा नं. ८ गणेश चौकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धानको लागि आज जिल्ला अदालत झापाबाट ५ दिन म्याद अनुमति लिइ अनुसन्धान भइरहेको डीएसपी खगेन्द्र खड्काले बताएका छन्।