झापा, भदौ ३ । मोरङमा मोटरसाइकल चोरी गरी भारततर्फ लाँदै गर्दा मेची पुलमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा गौरीगन्ज गाउँपालिका वडा नं. ५ बस्ने २० वर्षीय रोम भन्ने प्रकाश यादव र बिर्तामोड नगरपालिका वडा नं. १ बस्ने २० वर्षीय ओमप्रकाश खड्का रहेका छन् । गत साउन ३० गते राति १२ बजे उनीहरुले मोरङ रतुवामाई नगरपालिका वडा नं. ४ आमबारी चोक बस्ने पुष्पमाया खतिवडाको आफ्नो घर कम्पाउण्डमा पार्किङ गरी राखेको ३० प ९६७७ नम्बरको मोटरसाइकल चोरेका थिए ।

मोटरसाइकल चोरी गरी भद्रपुरतर्फ ल्याएको भन्ने सूचनाको आधारमा हिजो भद्रपुर नगरपालिका वडा नं. ५ स्थित मेची पुलमा चेकप्वाईन्ट खडा गरी प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त चोरी भएको मोटरसाइकलमा यादव र खड्का सवार भई भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको हो । मोटरसाइकलसहित चोरीमा संलग्न यादव र खड्कालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय सिजुवा मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्