झापा, भदौ ३ । झापा गाउँपालिकासंग संझौता भएसंगै जिल्लाका १५ वटै पालिकामा स्वास्थ्य बिमा लागू भएको छ ।

भदौ १ गते झापा गाउँपालिकामा स्वास्थ्य बिमा लागू गर्ने संझौता भएको हो । यसअघि जिल्लाका १४ वटा पालिकामा स्वास्थ्य बिमा लागू भएर झापा गाउँपालिकामा बिमा कार्यक्रम संचालन भएको थिएन । झापा गाउँपालिकाले संझौता गरेसंगै जिल्लाभरि नै स्वास्थ्य बिमा लागू भएको बिमा बोर्ड झापा शाखाकी प्रमुख लक्ष्मी कँडेलले बताइन् ।
२०७४ सालमा पहिलो पटक भद्रपुर नगरपालिकाले स्वास्थ्य बिमा लागू गरेको थियो । त्यसपछि अन्य पालिकाहरुले बिमा कार्यक्रम संचालन गरेका थिए । झापाका ७६ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेको कार्यालय प्रमुख कँडेलले बताइन् । ७ लाख ५६ हजार २४ जनाले शुल्क तिरेर स्वास्थ्य बिमा गरेका छन् भने ५० हजार ४७६ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।
२०७८ को जनगणना अनुसार झापाको जनसंख्या ९ लाख ९८ हजार ५४ रहेको छ । स्वास्थ्य बिमा गराउनका लागि जिल्लाका १३१ वटा वडामा १७८ जना दर्ता सहयोगी रहेका छन् ।