झापा,भदौ ७ । शैक्षिक गुणस्तर सुधारका लागि मेरिङदेन गाउँपालिकाले विद्यालय अनुगमनको कार्य सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले शैक्षिक गुणस्तर सुधारका लागि प्रत्येक विद्यालयमा अनुगमनको कार्य थालनी गरेका छन् ।
३६ वटा विद्यालय रहेको पालिकाको पहिलो चरणमा १ नम्बर वडा थिङ्लाबुको श्री सिंहकाली माध्यमिक विद्यालय र ४ नम्बर वडा लिङ्तेपको श्री देवी आधारभुत विद्यालयमा अनुगमन गरिएको पालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिए । अनुगमनको क्रममा पालिकाको टोलीले प्रत्यक्ष विद्यार्थीसँग साक्षात्कार गरी पढाइको विषयमा प्रतिक्रिया लिएको थियो ।
त्यस्तै, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षकसँग पठनपाठनको गुणस्तर बढाउन पालिकाले सुधार गर्नुपर्ने विषयमा सल्लाह सुझाव समेत माग गरिएको र पालिकाको तर्फबाट आवश्यक निर्देशन समेत दिइएको बताइएको छ । पालिका अध्यक्ष हाङ्गामले अनुगमनको क्रममा शिक्षकको हाजिरी पुस्तिका तथा विद्यार्थीको अभ्यास पुस्तिका समेत चेकजाँच गरेका थिए । अध्यक्ष हाङ्गामले क्रमशः सबै विद्यालयको कुनैपनि समयमा अनुगमन गर्न सकिने बताएका छन् ।
पालिकाको ६ नम्बर वडा नाल्बुको पान्दोलुङ माध्यमिक विद्यालय, ५ नम्बर वडा थुकिमाको सुर्के माध्यमिक विद्यालय र ३ नम्बर वडाको पृथ्वी माध्यमिक विद्यालयमा सिसिटिभी समेत जडान गरिएको छ । विद्यालयमा स्थापना गरिएको साइन्स ल्याब आइसिटी ल्याब तथा अन्य सुरक्षाको लागि सिसिटिभी जडान गरिएको सूचना अधिकारी लिम्बूको भनाइ छ । उनका अनुसार पृथ्वी मावि र सुर्के मावि मा स्मार्ट बोर्ड जडान गरी पठनपाठनको कार्य जारी राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्