झापा, भदौ ७ । नेपालका सोयाबिन तथा सनफ्लावर तेल उद्योगमा भारतको वाणिज्य विभागले अनुगमन गरेको छ ।

नेपालबाट सोयाबिन तथा सनफ्लावर तेल निकासी गर्दै आएका उद्योगले भारतीय ब्रान्डकै नाममा प्याकेजिङ गरेको आशङ्कामा विभागको टोलीले निरीक्षण गरेको हो । सुनसरी–मोरङ कोरिडोरका पशुपती खाद्य आयल, क्वालिटी आयल, मारुती र बाबा ओयल इन्डस्ट्रिजको निरीक्षणपछि टोली फर्केको छ । भारतीय टोली नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत वस्तु उत्पत्तिको प्रमाणपत्र प्रमाणीकरण प्रयोजनका लागि आएको हो ।
यसअघि नेपालबाट भारत निकासी हुने प्लाइउडमा विषयमा यस्तै सूचना पाएको भन्दै भारतीय अधिकारीले अनुगमन गरेका थिए । तत्पश्चात् भारतले नेपालका प्लाई उद्योगलाई बिआइएस (ब्युरो अफ इन्डियन स्टान्डर्ड) मान्यता लिन अनिवार्य गरेको थियो । नेपालका केही उद्योगले बिआइएस लिएर उत्पादन निकासी गरिरहेका थिए ।



