लक्ष्मी उप्रेती

मेचीनगर । भदौ महिना लागेयता झापामा विभिन्न दुर्घटनामा परी दैनिकजसो एकजनाको मृत्यु हुने गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भदौ १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न पालिकाहरुमा भएका दुर्घटनामा परी सातजनाको ज्यान गएको हो । सवारी दुर्घटना, करेन्ट लागेर र बालकको घाँटीमा सारीको पिङ बेरिएरलगायतका दुर्घटनामा परेर एक बालकसहित सातजनाको ज्यान गएको हो । यसरी मृत्यु हुनेमा अधिकाँश पुरुष छन् ।

भदौ २ गते करेन्ट लागेर मेचीनगर नगरपालिका—५ भेटघाट चोक बस्ने २२ वर्षीय संदिप राजवंशीको मृत्यु भएको थियो ।साँझ ५ बजेको समयमा आफ्नै घरको टेवल पंखा बिग्रिई मर्मत गर्ने क्रममा राजवंशीलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भई उपचारको लागि आम्दा मेची अस्पताल धुलावारी पठाएकोमा उपचारको क्रममा साँझ ६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय धुलावारीका प्रमुख प्रहरी निरीक्षक पाण्डव राजवंशीको कमाण्डमा खटिएको टोलीले उनको करेन्ट लागेर मृत्यु भएको पुष्टि गरेको थियो ।

भदौं ३ मा झापाको दमक र बुद्धशान्तिमा भएका अलग अलग सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा एकजना महिला छन् । विहान आठ बजेतिर दमक नगरपालिका —७ पशुडाँडास्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ०९१२ न. को बन्दाकोपी बोकेको मालवाहक ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्र १—०१—०१२प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका—५ बस्ने ४२ वर्षीया मुना गौतमको घटनास्थलमा नै मृत्यु भएको थियो । उनका श्रीमान ४३ वर्षीय सुकदेव गौतमको बाँया खुट्टामा सामान्य चोट लागि उपचारको लागि दमक अस्पताल दमक पठाएको थियो ।

सोही दिन झापाको बुद्धशान्ति गाउँपालिका –४ बर्नेस्थित मेची राजमार्गमा इलामबाट बुधबारेतर्फ आउँदै गरेको बीआर ५५८५०० नम्बरको भारतीय स्कोरपियो र बिपरित दिशातर्फ जाँदै गरेको प्र.१–०१–०१६ प.३६६१ न. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका –१ का ४६ वर्षीय ठाकुर अधिकारी गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

४ भदौमा कमल गाउँपालिका— ४ का २१ वर्षीय उज्वल राईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसो २ बजेतिर सोही वडामा पर्ने ढ्यांग्र्री खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा राईलाई करेन्ट लागेको थियो । घाइते अवस्थाका उनलाई उपचारको लागि लाईफलाईन अस्पताल दमकमा पठाइएकोमा दमकमा पुर्याउन साथ दिउँसो ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

भदौ ५ मा अर्जुनधारामा एक बालकको मृत्यु भएको छ । साँझ पौने ५ बजेतिर अर्जुनधारा नगरपालिका—११ बालविकास टोलका नेत्रप्रसाद सिवाका छोरा बर्ष अन्दाजी १० का प्रदिप सिवा आफ्नै घरको काठको बलोमा खेल्न बनाएको सारीको पिङमा साडी बेरिँदा पासो लागेर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल पुर्याएपछि डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

६ भदौमा मोटरसाइकलको ठक्करबाट घाइते भएका कमल गाउँपालिका ३ का ८८ वर्षीय टिकाराम श्रेष्ठको मृत्यु भएको छ । प्रहरीका अनुसार साँझ सवा ७ बजे कमल गाउँपालिका —३ केराधापस्थित भित्री सडकखण्डमा क्याम्पाबाट केर्खातर्फ आउँदै गरेको प्रदेश न.१–०१–०१६ प ५१०५ नम्बरको मोटरसाइकलले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिँदा टाउको र दाहिने खुट्टामा चोट लागेको थियो । थप उपचारका लागि विर्तामोडको वीएण्डसी अस्पतालमा भर्ना गरिएको र उपचारका राति ११ः३५ बजे उपचारको क्रममा मृत्यु भएको बताइएको छ । मोटरसाइकल र चालक सोही पालिका वडा नं ५ बस्ने बर्ष ५१ का मानकुमार सुबेदीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

७ भदौमा झापा कन्काई नगरपालिका १ का ३७ वर्षीय पंकज माझीको करेन्ट लागेर मृत्यु भएको छ । विहान ८ः३० बजेको समयमा कनकाई नगरपालिका —१ स्थित खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्