झापा,भदौ १६ । अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६२२ जना पुगेको छ।

नङ्गरहार प्रान्तको जलालावाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रविन्दु बनाएर आइतबार राति ११ः४७ बजे ६ म्याग्निच्युडको भूकम्प गएको हो।
सोमबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ६२२ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
घाइतेको संख्या पनि बढेर १५ सय नाघेको तालिबान सरकारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
पाकिस्तानसँग सिमानजिकै भूकम्पको केन्द्रविन्दु भएकाले धक्का पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो। अफगानिस्तानकै राजधानी काबुलसम्म पनि कम्पन महसुस भएको थियो।
भूकम्पले ग्रामीण बस्तीहरू तहसनहस बनाएको छ। कुनार र नङ्गरहार प्रान्तमा मानवीय र भौतिक क्षति बढी भएको छ।
रोयटर्सका अनुसार कुनारमा मात्रै ६१० जनाको मृत्यु भएको छ। १२ जना नङ्गरहारका छन्।
तालिबान सरकारको रक्षा मन्त्रालयले ४० वटा हेलिकप्टर उद्धारका लागि पठाइएको जनाएको छ। ४० वटा उडानबाट ४२० जनाको उद्धार गरिएको बताइएको छ।
भूकम्पले ग्रामीण इलाकामा क्षति पु¥याएकाले विवरण पनि ढिलो प्राप्त भएको भनेर तालिबानलाई उद्धृत गरेको छ।
भूकम्पले धेरै प्रभाव पारेको क्षेत्रमा उद्धारका लागि सडकबाट जाने अवस्था नरहेको भनेर तालिबान सरकारले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको छ।
राति ६ म्याग्निच्युडको भूकम्पपछि लगत्तै आएको ५ म्याग्निच्युडभन्दा बढी तीव्रताको परकम्पले थप क्षति पु¥याएको बताइएको छ।
त्यसपछि पनि साढे ४ म्याग्निच्युडभन्दा बढी तीव्रताका कैयौँ परकम्प महसुस भएका थिए।
यसअघि सन् २०२२ मा पूर्वी अफगानिस्तानमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा एक हजार जनाको मृत्यु भएको थियो।