झापा, भदौ १६ । नेपालको पहिलो फ्रिलेन्सिङ एपको रुपमा yaha chha नामक एप लन्च गरिएको छ ।

व्यवसायी र फ्रिलेन्सरलाई जोड्ने माध्यमको रुपमा सेवा दिने गरी सो एप निर्माण गरिएको हो । व्यवसायीहरुलाई दक्ष जनशक्ति र सीप भएका युवाहरुलाई रोजगारी प्रदान गर्ने उद्धेश्यले सो एप निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ ।
रुट ड्युज सफ्टवेयर डेभलपमेन्ट प्रा.लि.ले निर्माण गरेको सो एप आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले लन्च गरेकी हुन् । कार्यक्रममा बोल्दै एप निर्माण गर्ने रविन थापाले करिव दुई वर्ष लगाएर आफूहरुले सो एप निर्माण गरेको बताए । उनले सो एपको उपयोगिताका बारेमा जानकारी दिएका थिए ।
रुट ड्युज सफ्टवेयर डेभलपमेन्ट प्रा.लि.का सल्लाहकार रवि चापागाँईको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका अध्यक्ष नविन भण्डारीले सो एपको औचित्यका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नगर प्रमुख प्रसाई ,अर्जुनधारा ११ का वडा अध्यक्ष खगेन्द्र इङनाम , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने , सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराई , नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने , बंगलादेशी नागरिक एलिस खानले लन्च गरिएको एपको सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको संचालन संचारकर्मी रमेश तिवारीले गरेका थिए ।