झापा, भदौ १७ । झापाको कन्काई र बिर्तामोडमा भएका मोटरसाइकल दुर्घटनामा तीनजना घाइते भएका छन् ।

गएराति ८ बजे कन्काई नगरपालिका वडा न.८ त्रिवेणी टोलस्थित भित्री सडकखण्डमा बिरिङ पुलबाट त्रिवेणी टोलतर्फ जाँदै गरेको को २० प ५१६१ नं. को मोटरसाइकलले सोही ठाउँ बस्ने अनोज रसाईलीका छोरा ६ वर्षीय जीवन रसाईलीलाई ठक्कर दिएको हो । आफ्नै घरअगाडी खेल्ने क्रममा ठक्कर दिँदा बालकको टाउको, अनुहार र ढाडमा चोट लागेको छ । घाइते बालकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षक सुवास ढुंगानाको कमाण्डमा टोली खटिएर मोटरसाइकल र मोटरसाइकल चालक इलाम नगरपालिका वडा न.४ बस्ने ३८ वर्षीय कृष्णकुमार श्रेष्ठलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोड पठाएको छ ।
त्यस्तै गएराति ९ः३५ बजे बिर्तामोड नगरपालिका –२ चारपाने चौकस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको मे.८ प २७७१ न.को मोटरसाइकलले तत्काल नाम, थर र वतन नखुलेको पैदलयात्री २२ वर्षको जस्तो देखिने पुरुषलाई ठक्कर दिएको थियो । दुर्घटनामा पैदलयात्रीको दाहिने खुट्टा भाँचिएको छ भने टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेको छ ।
मोटरसाइकल चालक अर्जुनधारा वडा न.५ बस्ने ३४ वर्षीय जीवन बुढाथोकी पनि घाइते भएका छन् । उनको टाउको ,अनुहार र आँखाको डिलमा चोट लागेको छ भने दुवै खुट्टाको घुँडा पिल्सिएको छ । दुवै जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।