झापा, भदौ १८ । इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफ्नो गाउँको विकासमा श्रम गर्ने अभियान सञ्चालन गरिएको छ ।

गाउँपालिकाले कार्यविधि नै बनाएर मासिक रुपमा प्रत्येक घरले महिनामा एक दिन अनिवार्य श्रम गर्ने गरी कार्यविधि बनाएर लागू गरेपछि अभियान सञ्चालन गरिएको हो ।
गाउँपालिकामा रहेका ५७ वटा टोलविकास संस्थामार्फत प्रत्येक घरले महिनामा एक दिन श्रम गर्न थालिएको छ । स्थानीय स्तरका सडक मर्मत, नालीको सरसफई, विद्यालय घेराबार ,मठमन्दिरको पुनर्निर्माण, सामुदायिक वनमा वृक्षरोपणदेखि सरकारी, सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय नागरिक सक्रिय भएर लागेको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिएका छन् ।
उनले विकासपछिको व्यवस्थापनमा अहिलेसम्म ध्यान नपुगेका कारण विकाश भएर पनि संरक्षण हुन नसकेका संरचनाको संरक्षणका लागि नागरिकलाई नै सक्रिय गराइएको जानकारी दिए ।
गाउँपालिकाले सुरुमा कार्यविधि बनाएर गाउँपालिका भित्रका ५७ वटै टोल विकासका पदाधिकारीलाई टोल विकासको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिएको थियो । पालिकालले टोल विकाशको मासिक बैठकलगायतका लागि आवश्यक सामग्रीसहित प्रत्येक टोल विकास सञ्चालनका लागि वार्षिक २० हजार रुपियाँका दरले बजेटको व्यवस्थापन गरेको छ ।
अनिवार्य श्रम नगरे वडाको सिफारिस रोक्नेसम्मको कानुन निर्माण गरेको गाउँपालिकाले नीति निर्माण गरेर स्थानीय स्तरको व्यवथापकीय पक्षलाई मजबुत बनाउनका लागि टोल विकास संस्थामार्फत नागरिक परिचालन गरीएको गाउँपालिका अध्यक्ष स्याङ्बोले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्