भद्रपुर, भदौ १८ । भद्रपुर–३ को वडा कार्यालयमा वडा सदस्यहरुबीच हात हालाहाल भएको छ ।

भद्रपुर ३ को कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी पाएकी वडा सदस्य भुवमाया थापा पुलामी र वडा कार्यालयका कर्मचारीमाथि वडा सदस्य पूर्णमाया सुब्बाले हातपात गरेकी हुन् ।

प्रत्यक्षदर्शीका अनुसार, कार्यबाहक अध्यक्ष पुलामी वडा कार्यालय नजिकैको चियापसलमा बसेका बेला सदस्य सुब्बासँग वादविवाद भएको थियो। सोही क्रममा सुब्बाले हातपात गर्दै विवादलाई हिंसात्मक रूप दिएको बताइएको छ। विवाद चर्किएपछि छुट्याउने क्रममा कर्मचारीहरू समेत आक्रमणको शिकार बनेका छन्। कुटपिटबाट घाइते भएकी अध्यक्ष पुलामीलाई प्राथमिक उपचारपछि घर फर्काइएको वडा कार्यालय स्रोतले जनाएको छ।

घटनाप्रति आक्रोश व्यक्त गर्दै नेपाल निजामती कर्मचारी संगठन झापाले विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “जनप्रतिनिधि र कर्मचारीमाथि गुण्डागर्दी शैलीमा भएको कुटपिट अस्वीकार्य छ। दोषीलाई कानून बमोजिम कड भन्दा कडा सजाय हुनुपर्छ।”

यस घटनाले स्थानीय राजनीतिक वातावरण अस्थिर बनाएको भन्दै नागरिकले समेत घटना छानबिन गरी आवश्यक कारबाहीको माग गरेका छन्। कार्यवाहक वडाध्यक्ष पुलामीले चिठी लुकाएको भन्दै सुब्बाले विवाद गरेकी थिइन् । त्यस विषयमा बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्