झापा , भदौ १९ । इलाममा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

आज दिउँसो १२ः१० बजे सूर्योदय नगरपालिका ८ पालटाङगेस्थित मेची राजमार्गमा फिदिमबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–०१३ प ३२८९ नं.को मोटरसाइकल र बिपरीत दिशाबाट जाँदै गरेको बा २० च १३२४ नं.को कुखुराको चल्ला बोकेको पिकअप एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पाँचथर फिदिम १४ बस्ने २७ वर्षीय छबिलाल राई र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने ५० वर्षीय श्रीकुमार राई घाइते भएका छन् । एकजना मध्यम र अर्का गंभीर घाइतेलाई उद्धार गरी उपचारको लागि पार्वती पोलिक्लिनिक फिक्कल लगिएको थियो । त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तामोडतर्फ पठाइएको छ ।
पिकअप र पिकअप चालक इलाम सूर्योदय १० बस्ने ४० वर्षीय अमिर राईलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



