झापा, भदौ २२ । संखुवासभा र मोरङमा गाँजा र ब्राउनसुगरसहित ८ जना पक्राउ परेका छन् ।

गएराति ९ बजे संखुवासभाको खाँदबारी–१ बाँसबारी चौकमा रहेको तेजबहादुर राईको कामदार बस्ने कटेजमा गाँजा खाइरहेको अबस्थामा ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा मोरङ उर्लाबारी १ बस्ने २९ वर्षीय जनक धिमाल,भोजपुर षडानन्द– ५ बस्ने २१ वर्षीय तिलक मगर,सप्तरी फत्तेपुर –२ बस्ने २५ वर्षीय रुपक धामी, सोही ठाउँ बस्ने ३२ वर्षीय बिरेन्द्र धामी,संखुवासभा खाँदबारी –८ बस्ने ४३ वर्षीय कृष्ण घिमिरे र ओखलढुङ्गा सिद्धिचरण –८ बस्ने ३२ वर्षीय राज राई रहेका छन् । उनीहरुको साथबाट प्लाष्टिकमा प्याक गरेको स–साना ५ प्याकेट गाँजा फेला परेको छ ।
त्यस्तै हिजो दिउँसो १.५० बजे धनकुटा महालक्ष्मी नगरपालिका ५ बरडाँडास्थित कोशी लोकमार्गमा बेलबारीबाट संखुवासभातर्फ जाँदै गरेको मोरङ बेलबारी नगरपालिका ४ बस्ने २१ वर्षीय मनिष दर्जीले चलाएको मे ८ प ८२३८नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको छ । चालक दर्जीको गोजीबाट पाँचवटा सानो पोका खोली हेर्दा ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको हो ।
उनीसहित मोटरसाइकलमा पछाडी बस्ने मोरङ बेलबारी ४बस्ने ख्यामबहादुर श्रेष्ठलाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ ।



