इलामका हरियाली डाँडापाखामा उद्गम भई झापाको समथर भूमिमा जीवनदायिनी बनेर बग्ने नदी हो– कन्काई । यसलाई लाखौं मानिसले आस्थाको धरोहरका रूपमा आत्मसात् गरेका छन्। कन्काई केवल जलप्रवाह होइन, यो प्राणी र वनस्पतिहरूको जीवनदायिनी शक्ति हो। प्रकृतिप्रेमीहरूका लागि पूजा र ध्यानको केन्द्र हो। कृषकहरूले रोपेका बीउलाई सुनौलो बालाको रूप दिने अमृतमय जल हो। श्रद्धालुहरूका लागि मनोकामना पूरा गरिदिने विश्वासको स्तम्भ पनि हो।

सनातनी परम्परामा कन्काईको जल जीवन रहँदासम्म मात्र होइन, मृत्युपश्चात् पनि आत्मालाई मोक्षतर्फ उन्मुख गराउने पवित्र मार्ग मानिन्छ। शवयात्रा, श्राद्ध र संस्कारमा यसको महत्वपूर्ण स्थान छ। यसरी कन्काई नदी जीवित र मृत दुवैको यात्रामा समान रूपमा संलग्न रहने दुर्लभ आस्था प्रतीक पनि हो ।

वर्षौं अघिदेखि हाम्रा पूर्वजहरूले अवलम्बन गर्दै आएको कन्काई सभ्यता आज पनि उत्तिकै महत्वपूर्ण रहिआएको छ। खेतमा सुनौलो धान उमार्ने, गाउँमा पानी पुर्याउने, मेलापातमा भक्तजनलाई एकै ठाउँमा भेला गराउने, संस्कारमा पवित्रता दिने– यी सबै काममा कन्काईको अविच्छिन्न योगदान रहिआएको छ। सभ्यताको यही निरन्तरतालाई हामीले आज पनि सजाएर दैनन्दिन जीवन अघि बढाइरहेका छौँ।

सनातनी सभ्यताको प्रज्वलित दियो बोकेर सदियौँदेखि सागरतर्फ बगिरहेको कन्काई नदीले नेपाल मात्र नभई पूर्वोत्तर भारत र भुटानसम्मलाई समेत जोड्दै आएको छ। यसको किनार केवल झापा र इलामको सौन्दर्य नभई संस्कृतिको सम्मिश्रण, सहअस्तित्वको सन्देश र साझा आस्थाको केन्द्र बनेको छ। कन्काई नदीलाई हामी केवल पानीको धारा देख्दैनौँ, आफ्नो कला ,संस्कृति,परम्परा, सभ्यता, आस्था र विश्वासको पुञ्जभित्र मातास्वरुपा भगवतीको प्रतिविम्व देख्दछौं ।

यसै पृष्ठभूमिमा, कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ सँगै कन्काई नदी विशेष चर्चामा छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रदेश सरकारले “कोशी पर्यटन धार्मिक माई महोत्सव–२०८२“ आयोजना गर्ने तयारी गरेको छ। आगामी मङ्सिरमा हुने यो महोत्सवको स्थानीय संयोजनमा परोपकारी संस्था “राधिका फाउन्डेशन” ले जिम्मेवारी ग्रहण गरेको छ ।

यो महोत्सवले पूर्वी नेपालका विविध जाति, भाषा र संस्कृतिलाई एकत्रित गर्नेछ। यसले छिमेकी मुलुक भारत र भुटानमा रहेका ओमकार परिवारका अनुयायीहरूलाई नेपालमा स्वागत गर्नेछ। “अतिथि देवो भव” भन्ने सनातनी मूलमन्त्रलाई सजाउँदै यो महोत्सवले नेपाली कला, संस्कृति, सभ्यता, विविधता, एकता, आपसी भाइचारा र सद्भावलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनेछ।

धर्म, संस्कृति र प्राचीन सनातनी सभ्यताका विद्वान–विदुषीहरूले यहाँ सद्वचन, प्रवचन र सत्कार्यको सन्देश प्रवाह गर्नेछन्। यस महोत्सवले कन्काई तटीय क्षेत्र र आसपासको व्यापारलाई प्रवर्द्धन गर्नेछ, आन्तरिक तथा बाह्य पर्यटनलाई सशक्त बनाउनेछ, अनि समाजमा धार्मिक सहिष्णुता र सांस्कृतिक चेतनाको जागरण ल्याउनेछ। बहुआयामिक र दुरगामी महत्व बोकेको यो महोत्सव केवल एक पर्व मात्र नभई, पूर्वी नेपालको गौरवलाई विश्व समुदायसम्म पुर्याउने एउटा ऐतिहासिक अवसर बन्नेछ।

आयोजक राधिका फाउन्डेशनले लामो समयदेखि विकट भूगोलका विपन्न बालबालिकालाई संस्कारसहितको शिक्षा प्रदान गर्दै आएको छ। भागवत मञ्जरी राधिका दासीको नेतृत्वमा अघि बढिरहेको यो अभियानले अहिले धार्मिक पर्यटन प्रवर्द्धनलाई समेत प्राथमिकतामा राख्दै कोशी पर्यटन धार्मिक माई महोत्सवलाई आकार दिँदैछ। शिक्षादान र समाजसेवामा सक्रिय यस संस्थाको नेतृत्वमा महोत्सव आयोजना हुनु आफैँमा गर्वको विषय हो।

प्रदेश सरकारसंगको सहकार्यमा हुन गइरहेको यो महोत्सवमार्फत कनकाई नदी किनारबाट हामी यो सन्देश प्रवाह गर्न सक्छौं – आफ्नो सभ्यतालाई सम्झनुहोस्, संस्कृति जोगाउनुहोस् र प्रकृतिलाई संरक्षण गर्नुहोस्। सभ्यताको जीवनरेखा बनेको यो नदीलाई सुरक्षित राख्नु भनेको हाम्रो संस्कार, संस्कृतिको उज्यालो र सनातनी जीवनशैलीलाई सुरक्षित राख्नु हो।
कन्काई नदी केवल प्राकृतिक सम्पदा होइन, यो आस्था, सभ्यता र संस्कृतिको साझा धरोहर हो। यसको सुसंरक्षण गर्दै धार्मिक पर्यटन र सांस्कृतिक चेतनाको माध्यमबाट विश्वव्यापी बनाउन सक्नु हाम्रो कर्तव्य हो।
कन्काईलाई बचाऔँ, सभ्यतालाई बचाऔँ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्