झापा,भदौ २३ । इलामको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दुई वटा बोर्डर आउट पोस्ट (बिओपी) को उद्घाटन गरिएको छ।

इलामको सूर्योदय नगरपालिका ४ छब्बीसे र सूर्योदय नगरपालिका–१, मानेभन्ज्याङको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दुई वटा बिओपीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बंशीराज दाहालले उद्घाटन गरेका हुन् ।
सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, अवैध कारोबार नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरिएको बिओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले सिमानामा शान्ति सुरक्षा कायम गर्न भवन निर्माण गरिएको जानकारी दिएका हुन् ।
उनले सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीले नेपाल भारत दुई देशबिच शान्ति सुरक्षा कायम गर्ने विषयमा समन्वय गर्ने, स्थानीयसँग समन्वय गर्ने र स्थानीय सरकारसँग समन्वय गरी शान्ति सुरक्षा कायम गर्ने सशस्त्र प्रहरीको लक्ष्य रहेको जानकारी दिए । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले भने, ‘सशस्त्र प्रहरीले सीमानामा बसेर नागरिकको मन जितेर काम गर्नुपर्छ, खुल्ला सीमा नाका भएका ठाउँमा अवैध गतिविधि रोक्न सशस्त्र प्रहरीको ठुलो हात छ।’
भवन उद्घाटन गर्दै दाहालले सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न सशक्त भएर काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन समेत दिए ।



