बिर्तामोड , भदौ २३ । जेनजीको प्रदर्शनका क्रममा बिर्तामोडमा पनि प्रहरीले गोली चलाएको छ ।

आज दिउँसो ३.१५ देखि बिर्तामोड –३, बिर्ताबजारस्थित नगरपालिका कार्यालय अगाडि भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । आन्दोलनकारीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । प्रहरीले एक दर्जनबढी सेल अश्रुग्यास र एक दर्जनबढी राउण्ड गोली फायर गरेको छ ।
प्रदर्शनकारीतर्फ दुईजना घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर बिर्तामोड –३ बस्ने बर्ष ३३ का प्रदिप खरेल घाइते भएका छन् । उनको दायाँ खुट्टाको फिलामा रबर गोली लागेको छ । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । त्यस्तै अर्का प्रदर्शनकारी पनि घाइते भएका छन् । उनको टाउको फुटेको छ । प्रहरीले हानेको ढुंगा उनलाई लागेको हो । आन्दोलनकारीले बिर्तामोड नगरपालिकाको गेट र नगर प्रहरी बस्ने बिटमा आगो लगाएका छन् ।



