झापा,भदौ २७ । जेनजी आन्दोलनका क्रममा व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगजनी भएको भन्दै निजी क्षेत्रले आगामी दिनमा आक्रमण नहुने वातावरण बनाउन आग्रह गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै महासङ्घले पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएको भन्दै व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको भत्र्सना गरेको हो ।
साथै महासङ्घले व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ । महासंघकाअनुसार उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ । यसबारे महासङ्घले थप विवरण सङ्कलन गरिरहेको छ । क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आङ्कलन महासङ्घले गरेको छ ।
महासङ्घले सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव रहेको बताउँदै स्थायित्वका लागि युवाहरूको चाहना अनुरुप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न जरुरी रहेको बताएको छ । लगानी एवं रोजगारी प्रवद्र्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पु¥याउन महासङ्घले सबैमा आग्रह समेत गरेको छ ।
यस्तै नेपाल उद्योग परिसंघ (सीएनआई) ले निर्दोष नागरिकको ज्यान जाने कुनैपनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा गरेको छ ।
परिसंघले संयमता अपनाउन सबै सरोकारवालालाई अपिल गर्दै शान्ति, सुरक्षा र रचनात्मक संलग्नतालाई प्राथमिकता दिन आग्रह गरेको छ । साथै, लोकतान्त्रिक अभिव्यक्ति सुरक्षित राख्नुपर्ने र कानुन, व्यवस्था तथा मानव जीवनको पवित्रता सुनिश्चित गर्ने पहलमा निरन्तर समर्थन रहने स्पष्ट पारेको छ । हालैका जेन्जी आन्दोलनमा सरकारले दमन गरेपछि दोस्रो दिनको आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योगी–व्यवसायीमाथि आक्रमण भएको थियो ।



