झापा, भदौ २७ । जेनजी आन्दोलनको मौका पारेर झापाको प्रहरी हिरासतमा रहेका लागूऔषधका नामुद कारोबारीहरु भागेका छन् ।

झापामा डिलर राखेर ठूलो मात्रामा औषधिजन्य लागूऔषधको कारोबार चलाइरहेका नेकपा एमालेनिकट भानुभक्त खरेललाई प्रहरीले पक्राउ गर्न नसक्दै उनका साझेदार र सहयोगीहरुसमेत प्रहरी हिरासतबाट उम्किएका हुन् । जेनजीको आन्दोलनको मौका छोपेर इलाका प्रहरी कार्यालय बिर्तामोड , इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट ९२ जना थुनुवा भागेका छन् । भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीहरुले इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, बिर्तामोडबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवाहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भाग्ने ९२ जना थुनुवामध्ये मुख्य कारोबारी भानुभक्त खरेलका कामदार अर्जुनधारा–६ दासपुल बस्ने २५ वर्षीय विनोद घिमिरे, खरेलका साझेदारहरु राजेन्द्र पन्धाक, विष्णु बगाले थापा र गंगाबहादुर खड्का पनि रहेका छन् । घिमिरे र पन्धाक इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतबाट भागेका हुन् भने बगाले र खड्का इलाका प्रहरी कार्यालय दमकको प्रहरी हिरासतबाट भाग्न सफल बनेका छन् ।
गत साउन १ गते नेकपा एमाले बिर्तामोड नगर कमिटी सदस्य तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ झापाका उपाध्यक्ष भानुभक्त खरेलको बिर्तामोडमा रहेको दुईवटा गोदामबाट अहिलेसम्मकै ठूलो परिमाणमा औषधिजन्य लागूऔषध बरामदसंगै प्रहरीले संचालक खरेलका कामदार घिमिरेलाई पक्राउ गरेको थियो ।
त्यसको एक महिना नबित्दै साउन २१ गते राति कमल गाउँपालिका वडा नं ६ काटाचोक बस्ने बिष्णुप्रसाद बगालेको घरमा लागूऔषध लुकाई राखेको अबस्थामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध पक्राउ पर्यो । एमालेका संगठित सदस्य बगाले नेकपा एमालेबाट निर्वाचित दमक वडा नं ६ का वडाध्यक्ष टेकबहादुर थापाका भाइ र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका भान्जा हुन् ।
बगालेसंगै दमक मेडिकल डिस्ट्रिब्युटरका संचालक गंगाबहादुर खड्का पनि पक्राउ परे । त्यसको भोलिपल्ट बिर्तामोडबाट नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य राजेन्द्र पन्धाक पनि ठूलो परिमाणमा औषधिजन्य लागूऔषधसहित पक्राउ परेका थिए ।
बगालेको घरमा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा घर तलासी लिने क्रममा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३००० , डिसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट २११० र स्पास्पेन २०५० ट्याब्लेट बरामद भएको थियो ।
त्यस्तै पन्धाकको घरको भुइँतलाबाट माथिल्लो तलाहरुमा जाने सिढी मुनिको खाली भागमा कागजको कार्टुनहरुले छोपी राखेको २० हजार ट्रामाडोल क्याप्सुल बरामद भएको थियो । त्यसअघि गत साउन १ गते प्रहरीले बिर्तामोड–५ मंगलदीप टोलमा रहेको खरेलको गोदामबाट २ लाख २१ हजार ४०० वटा ट्याब्लेट र १ हजार ८७० एम्पुल लागूऔषध बरामद गरेको थियो ।
त्यस्तै अहिलेसम्मकै ठूलो परिमाण (२८८ ग्राम ब्राउनसुगर)सहित पक्राउ परेका सिन्धुली भिमान गाउँपालिका वडा नं १० का विनोद विक पनि फरार भएका छन् । उनी बिर्तामोड प्रहरीको हिरासतमा रहेका थिए ।
प्रहरी हिरासतबाट भाग्ने अधिकांश थुनुवाहरु लागूऔषधका कारोवारी र प्रयोगकर्ताहरु रहेका छन् । त्यसबाहेक जवरजस्ती करणी , ज्यान मार्ने उद्योग , अभद्र व्यवहारलगायतका आरोपी रहेका छन् ।
विभिन्न अपराधका अपराधीहरु नियन्त्रण बाहिर रहँदा समाज त्रसित बनेको छ । लागूऔषधका ती नामुद कारोबारीहरु पुनः पक्राउ पर्न नसके लागूऔषधको धन्धाले अझ विकराल रुप लिने देखिएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका थुनुवाहरु
दमक नगरपालिका वडा नं १ का विजय कर्माकार–लागूऔषध, कमल गाउँपालिका वडा नं १ का सन्तोष मिस्तेरी– लागूऔषध , बिर्तामोड वडा नं ३ का विरबहादुर राजवंशी–लागूऔषध, बिर्तामोड वडा नं १ का विशाल गौतम–लागूऔषध , इलाम नगरपालिका वडा नं ९ का गंगाराम चौहान– लागूऔषध , सोही ठाउँका सुजन अधिकारी–लागूऔषध , बिर्तामोड वडा नं ३ का मोहम्मद ममज मियाँ–लागूऔषध , कनकाई वडा नं ४ का मुस्ताक अन्सारी–लागूऔषध ,सोही ठाउँका सुनिल यादव–लागूऔषध , अर्जुनधारा वडा नं ६ का विनोद घिमिरे –लागूऔषध,सिन्धुली भिमान गाउँपालिका वडा नं १० का विनोद विक–लागूऔषध , झापा गाउँपालिका ३ की प्रेमकला महतो–लागूऔषध , बिर्तामोड वडा नं ६ का अनुमेश गिरी–लागूऔषध , अर्जुनधारा ३ का जीवन चम्लागाँई –लागूऔषध , बिर्तामोड ५ का राजेन्द्र पन्धाक–लागूऔषध ,अर्जुनधारा ८ हाल बिर्तामोड वडा नं ४ का नितेश शिवा दमाई –चोरी, कनकाई वडा नं ७ का चन्द्रबहादुर धमला–चोरी , हल्दिवारी वडा नं ४ का सरोज पौडेल–लागूऔषध , बिर्तामोड ८ का पंकजराज मैनाली–लागूऔषध, सोही ठाउँका शंकर चिमरिया–लागूऔषध , भद्रपुर १० का प्रदिप राई–लागूऔषध , हुम्ला नामखा गाउँपालिका १ का राजु लामा–लागूऔषध , बिर्तामोड ७ का कृष्ण पौडेल– चोरी, अर्जुनधारा८ का घनश्याम साह–लागूऔषध, भद्रपुर ८ का गणेश मिस्त्री–अभद्र व्यवहार , दमक ४ का रामकुमार धिमाल–अभद्र व्यवहार , धनकुटा पोलिखर्क ५ का होमबहादुर विक–अभद्र व्यवहार , सुनसरी दुहवी १२ का शैलेन्द्र मेहता–अभद्र व्यवहार ,सानाहरि नगरपालिका ९ का रोहन चौधरी–अभद्र व्यवहार , कनकाई वडा नं ३ का योगेन्द्र मैनाली–ज्यान मार्ने उद्योग , बाह्रदशी ५का डिकेन्द्र थापा–अभद्र व्यवहार , बिर्तामोड ५ का सुरज गुरुङ –लागूऔषध , कन्काई ३ का रमेश मुखिया सुनुवार–लागूऔषध रहेका छन् ।
भागेका थुनुवाको अवस्थाबारे अनभिज्ञ
भागेका थुनुवाहरुको अवस्थाबारे प्रहरी प्रशासन अहिलेसम्म अनभिज्ञ छ ।पुरुष थुनुवाहरु भागेपनि महिला थुनुवाहरु भाग्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयहरु पुनर्स्थापना भएसंगै फरार थुनुवाहरुको खोजी गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



