झापा,भदौ २८ । राजनीतिक शक्तिको आड र प्रहरीकै सहयोगमा दुई महिनादेखि पक्राउ नपरेका लागूऔषधका मुख्य कारोबारी बिर्तामोड ५ का ५० वर्षीय भानुभक्त खरेललाई आज स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

जेनजीको आन्दोलन शुरु भएको दिन भदौ २४ गते घर आएका खरेललाई आज दिउँसो ३ बजेतिर स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् । राजनीतिक शक्तिको आडमा अवैध धन्दा गर्दै आएका खरेलको गोदाममा छापा मारी गत साउन १ गते प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित औषधीजन्य लागूऔषध बरामद गरेको थियो ।
प्रहरीले उनको गोदामबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल १,०३,८००, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन– १८७० एम्पुल, ट्रामाडोल एण्ड एस्टामाइनोफेन ट्याब्लेट ४०५०, डिसाइक्लोमिन ट्याव्लेट ९७,०००,सिल्डेनेफिल ट्याव्लेट ८,९०० र कम्बीप्याक अफ माइफेप्रिस्टोन ट्याव्लेट – ७,६५० बरामद गरेको थियो ।
उनका कामदार अर्जुनधारा ६ बस्ने २५ वर्षीय बिनोद घिमिरेलाई पक्राउ गरिएपनि संचालक खरेल फरार रहेका थिए । भारतमा लुकेर बसेका खरेल घर आउजाउ गरिरहेका थिए । सामाजिक संजालमा सक्रिय देखिएपनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।



