झापा,भदौ ३१ । जेन–जी आन्दोलनका कारण करिब एक सातासम्म अवरुद्ध बनेका कोशी प्रदेशका भन्सार कार्यालयहरू क्रमशः लयमा फर्किँदै छन् ।

अन्य सरकारी कार्यालयझैँ भन्सारहरू पनि आन्दोलनकारीको मुख्य ‘तारो’ बनेका थिए ।
आन्दोलनकारीले कोशीका प्रमुख भन्सार कार्यालयमध्ये मेची र भद्रपुर भन्सारलाई पूर्ण रूपमा ध्वस्त मात्रै पारेनन्, कार्यालय र गोदामसम्म रित्याउने गरी लुटपाट मच्चाए । चाडपर्व नजिकिँदै गर्दा भारतसँग जोडिएका भन्सार नाकाहरू क्रमशः सहज बन्दै गएका हुन् ।
आयात–निर्यात व्यापारका हिसाबले कोशीको सबैभन्दा ठूलो विराटनगर भन्सारबाट मालवाहक ट्रक तथा कन्टेनरहरूको दैनिक जाँचपास सुरु भएको छ । आन्दोलनकारीले विराटनगर भन्सारलाई आंशिक क्षति पु¥याएका थिए । आन्दोलनका कारण गत २४ भदौदेखि पूर्ण रूपमा ठप्प यो भन्सारले सेवा सुरु गरेको भन्सार प्रमुख उमेश श्रेष्ठले जनाए ।
‘आन्दोलनका कारण सयौँ कन्साइनमेन्ट नाकामा रोकिएका थिए, अहिले जाँचपास पछि छाड्ने काम भइरहेको छ,’ भन्सार प्रमुख श्रेष्ठले भने, ‘अब बिस्तारै लयमा फर्किँदै छौँ ।’
भन्सारका अनुसार आन्दोलनका कारण करिब १ हजार ५ सय बढी मालवाहक ट्रक तथा कन्टेनरहरू सीमा नाकामा रोकिएका थिए ।
पूर्वी सीमा नाका मेची भन्सार कार्यालयले सोमबारदेखि सेवा सुचारु गरेको छ । भन्सार प्रमुख हरिहर पौडेलका अनुसार आन्दोलनकारीले आगजनी र तोडफोड गरी पूर्ण रूपमा क्षति भएको कार्यालयमा बस्ने ठाउँ समेत छैन । बैठक कक्षलाई कार्यकक्ष बनाएर काम सुरु गरिएको छ ।
कार्यालयका २५ थान बढी कम्प्युटर लुटिएको थियो । त्यसर्थ मेचीनगर उद्योग वाणिज्य संघले केही थान कम्प्युटर उपलब्ध गराएको छ । अन्य उपकरण कार्यालयले आफैँले खरिद गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्