झापा,असोज २ । यातायात व्यवसायीले दसैंका लागि यस वर्ष अग्रिम टिकट बुकिङ नखोल्ने बताएका छन् ।

यस वर्ष विभिन्न समस्या देखाउँदै व्यवसायीहरूले लामो दूरीका टिकट अग्रिम बुकिङ नखोल्ने निर्णय गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार यात्रुहरूले १ वा २ दिनअघि मात्रै टिकट लिन पाउनेछन् ।
यात्रुहरूका लागि आवश्यक सवारीसाधनको व्यवस्थापनमा महासंघ लागेको र चाडपर्व नजिक हुँदा सवारीसाधन अभाव हुन नदिने सिटौलाले जानकारी दिए । उनी भन्छन्, जसलाई जतिबेला मिल्छ, उतिबेलै टिकट पाइएपछि किन अग्रिम टिकट खुल्ला गर्नुप¥यो र ? टिकटको अभाव नै हुन दिन्नांै ।
यातायात व्यवस्था विभागमा भएको सर्वपक्षीय बैठकमा सरोकारवालाले यातायात सेवाको सम्पूर्ण तयारी भएको बताएका थिए । यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी बनाउनका लागि सबै तयारी भएको जनाएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सुरक्षित यात्रा गराउनका लागि विभागका तर्फबाट सबै तयारी भएको जानकारी दिए । उनले सडक क्षेत्रको सुशासन कायम गरेर यात्रुहरूलाई सुरक्षित साथ गन्तव्यतर्फ पु¥याउनका लागि सबै निकायबीच सहकार्य जरुरी रहेको उल्लेख गरे ।
चाडपर्वमा समयमा सडक अवरुद्ध हुन नदिन ठाउँठाउँमा सडक विभागसँगको सहकार्यमा डोजरलगायतको व्यवस्था गरिने उनले बताए । पोखरेलले भाडा दरलाई पारदर्शी बनाउन यात्रु सहायता कक्षलगायत विभिन्न स्थानमा भाडा दरको बोर्ड राखिने उल्लेख गरे ।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमा करिब ४ लाख यात्रुले उपत्यका छाडेको जानकारी दिएका थिए । यसअघिका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म अत्यधिक चाप देखिए पनि यस वर्ष अहिलेदेखि नै यात्रुको चाप बढेको उनले बताए । सिटौलाले यात्रुहरूलाई सेवा दिन यातायात व्यवसायीहरू तयार रहेको भन्दै सरकारका निकायहरू पनि सेवाका लागि तयार रहनुपर्ने बताए ।
त्यस्तै, यातायात व्यवसायीहरूले अहिलेको विषम परिस्थितिमा भाडादर वृद्धि नहुने र सेवामा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अग्रिम टिकट खुला गर्ने भन्दा पनि सवारीसाधनको उपलब्धताका आधारमा टिकट काटिने बताए । स्वाँर भन्छन्, अग्रिम टिकट खोल्नुपर्ने अवस्था छैन, यात्रुले यात्रा गर्नुभन्दा केही दिनअघि नै टिकट लिन सक्नेछन् । लोकल गाडीसमेत म्यानेज गरेर पठाउने तयारी गरिएको छ ।



