झापा,असोज २ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनको क्रममा भएको विध्वंसात्मक क्रियाकलापलाई गम्भीर रूपमा अनुसन्धान गरेर कानुनी दायरामा ल्याइने बताएका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालयमा पुगेर देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल ब्रिफिङ गर्दै अर्यालले भने– ‘विध्वंसात्मक क्रियाकलापलाई गम्भीर रूपमा अनुसन्धान गरी कानुनी दायरामा ल्याइने विश्वास दिलाउन चाहन्छु ।’
छानबिन र अनुसन्धान जाँचबुझ आयोग गठन भएपछि हुने र आयोगको निष्कर्ष अन्तिम हुने अर्यालले बताए । उनले भने– ‘जेनजीले गरेको सुरुवात भ्रष्टाचार विरुद्ध थियो, हिंसात्मक गर्ने थिएन ।’
देशभरका करिब ३ सय युनिटका इन्चार्जहरूलाई निर्देशन सम्बोधन गर्दै गृहमन्त्री अर्यालले प्रदर्शनमा घुसपैठ भएको बताए । उनले भने– ‘आन्दोलन कुशासन र भ्रष्टाचारको विरुद्धमा थियो तर, त्यसमा स्वार्थ पुरा गर्ने उद्देश्यले घुसपैठ भएको कुरा सामाजिक सञ्जालमा आएका भिडियो र क्रियाकलापले पुष्टि गरेको देखिन्छ ।’
आन्दोलन अवधिमा प्रहरीको संरचनामा गम्भीर प्रहार भएको उल्लेख गर्दै अर्यालले प्रहरीले प्रदर्शन गरेको संयमताको उच्च प्रशंसा गरे । प्रदर्शनमा अकल्पनीय क्षति हुनसक्ने पूर्व सूचना किन आएन भनेर गृहमन्त्रीले प्रहरी अधिकृतहरूलाई प्रश्न गरेका छन् । उनले भने– ‘हामीले गम्भीर रूपमा सोच्नुपर्ने अवस्था छ, पूर्व सूचना किन पाइएन ? पूर्वसूचनाको कमीले अकल्पनीय क्षति भयो ।’
प्रहरीको अनुपस्थिति र कमजोर उपस्थितिले समाजमा अराजकता मैलाउने अवस्था आउने उनले बताए । उनले भने– ‘कर्तव्य पालना कानुन बमोजिम गर्नुभएको छ, त्यतिबेलाको अवस्थालाई लिएर मनोबल गिराउनुपर्ने वा भय लिनुपर्ने अवस्था छैन ।’ भदौ २३ र २४ मा भएको प्रदर्शनमा आधिकारिक निकायले कमजोरी औँल्याएमा सुधार गर्नुपर्ने गृहमन्त्री अर्यालको भनाई छ ।
उनले भने– ‘आन्दोलनको मर्मलाई केन्द्रमा राख्नुपर्छ, आदर्श राष्ट्रको परिकल्पना प्रहरीको पनि हो ।’ नयाँ बानेश्वरमा प्रदर्शनकारीमाथि भएको बल प्रयोगबारे पनि छानबिन हुने अर्यालको भनाई छ । उनले भनेका छन्– ‘कमजोरी छानबिन हुनेछ, गोली चलाउनुपर्ने अवस्था आउनु राम्रो होइन ।’
गोली चलाउनुअघि नै मानवीय क्षति नहुने गरी बल प्रयोग गरेर भिड नियन्त्रण हुनुपर्नेमा इक्विपमेन्ट नै नभएको जानकारी पाउँदा असहज लागेको उनले बताए । उनले भने– ‘परिस्थितिले जस्टिफाइ हुने बाहेक बल प्रयोग गर्नु हुँदैन ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्