बिर्तामोड,असोज ४ । बिर्तामोडमा सञ्चालनमा रहेको एभरेष्ट फ्रेस एण्ड फेसन हाइपरमार्केटले बडादशैं धमाकाअन्तर्गत ५० प्रतिशत छुट दिएपछि ग्राहकहरुको भीड लागेको छ ।

दुई वर्षअघि बिर्तामोडमा आफ्नो सेवा विस्तार गरेको हाइपरमार्केटले प्रत्येक वर्ष दशैं विशेष छुट कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि ग्राहकहरुका लागि त्यस अफरलाई निरन्तरता दिएको हो । हाइपरमार्केटले दशैं धमाकाअन्तर्गत शुक्रवारदेखि लागू हुने गरी दशैंको नवमीका दिनसम्म १३ दिने विशेष अफर सञ्चालन गरिएको मार्केटका सञ्चालक चान महमदले जानकारी दिए । कपडासहित जुत्ता चप्पलको खरिदमा एमआरपी मूल्यमा ५० प्रतिशतसम्म छुट दिइनेछ भने किराना सामग्री खरिदमा बजार मूल्यभन्दा सस्तोमा सामग्री उपलब्ध गराइने सञ्चालक महमदको भनाई छ ।

‘भारतीय बजारसंँगको तुलनामा सुलभ मूल्यमा गुणस्तरीय सामग्री प्रदान गरिनेछ ’महमदले भने ‘चाडपर्बको समयमा दुई रुपैयाँ सस्तो पर्ने लोभले हामी भारतीय बजारहरुमा जाने गरेका छौं तर, भारतीय बजारकै मूल्यमा गुणस्तरीय सामान यहीँ उपलब्ध छ । ’

उनका अनुसार पाँच हजार बढीको सामग्री खरिद गर्ने ग्राहकलाई फ्रि होम डेलिभरीको व्यवस्था गरिएको छ । हाइपरमार्केटमा लत्ताकपडा मात्र होइन, खाद्यान्नसहित फलफूल र तरकारी पनि बजार मूल्यभन्दा सस्तो उपलब्ध छ ।

कृषकले उत्पादन गरेको फलफूल र तरकारी विचौलियाको हातमा नपरी सिधै हाइपरमार्केटमा आउने भएकाले पनि बजार मूल्यभन्दा सस्तो र गुणस्तरीय रहेको उनको दावी छ । त्यस्तै मार्केटमा आएर टिकटक बनाउनेहरुका लागिसमेत उत्कृष्टताको आधारमा पुरस्कृत गरिने भएको छ । जसमा पहिलो, दोस्रो र तेस्रो पुरस्कारको व्यवस्था गरिएको छ । उक्त पुरस्कारअन्तर्गत पहिलो पुरस्कार पाँच हजार, दोस्रो तीन हजार र तेस्रो पुरस्कार दुई हजार रुपैयाँ प्रदान गरिने छ ।

ग्राहकको सुविधालाई ध्यानमा राखेर हाइपरमार्केटले विशेष सुविधाको व्यवस्था गरेको दावी गरेको छ । विहान पाँचबजेदेखि राति १२ बजेसम्म ग्राहकले सेवा लिन सक्नेछन् । विशेषगरी विहानको समय गृहिणीलाई लक्षित गरी पहाडमा उत्पादित तरकारी तथा फलफूल ताजै उपलब्ध गराउने मार्केटको उद्देश्य रहेको छ ।

अफर कार्यक्रमको शुभारम्भ बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले गरेका छन् । कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्ष जीवन खड्कालगायतको आतिथ्य रहेको थियो भने सञ्चालक मुन्ना हुसेन, मुन्नाज हुसेन, मुनताज हुसेन, मेनेजर गणेश भुजेल, प्रेमा विष्टलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्