झापा,असोज ४ । जेनजी आन्दोलबाट उत्पन्न परिस्थितिका कारण दसैँमा खसीबोका र च्याङ्ग्रा काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्ने व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी)को योजना प्रभावित बनेको छ ।

कम्पनीले अन्ततः यस वर्षको दसैँका लागि खसीबोका र च्याङ्ग्रा खरिद गर्ने योजना स्थगित गरेको जनाएको छ । कम्पनीको खरिद विभाग प्रमुख अनन्तराज न्यौपानेले यो वर्षका लागि खरिद प्रक्रिया अगाडि बढाउन नसकिएको बताए ।
न्यौपानेले भने, ‘यो वर्ष खसीबोका र च्याङ्ग्रा नल्याउने निर्णय भयो । अनलाइन बुकिङ खुला गर्ने बित्तिकै सामाजिक सञ्जाल बन्द भयो । बुस्ट पनि गर्न पाइएन । करिब ४० वटा जतिको अर्डर आएको थियो । फेरि आन्दोलनको असर प¥यो ।’
उनका अनुसार खसीबोका र च्याङ्ग्रा स्थानीय तहहरूसँग समन्वय गरेर ल्याउनु पर्ने हुन्छ । तर, अहिले अवस्था सहज भएपनि सबै प्रक्रिया पूरा गर्न समय नपुग्ने भएपछि अन्ततः स्थगित नै गरिएको उनको भनाइ छ । साथै पछिल्लो समय अविरल वर्षाका कारण बाढी पहिरोले सडक अवरुद्ध भइरहने समस्या भएकाले पनि थप चुनौती उत्पन्न भएको उनको भनाइ छ ।
खाद्यले यसअघि दसैँमा खसीबोका र च्याङ्ग्रा बिक्रीका लागि भदौ १७ गतेदेखि ३० गतेसम्मका लागि अनलाइनमार्फत अग्रिम बुकिङ खुला गरेको थियो । जसअनुसार उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको खसीबोका वा च्याङ्ग्रा छनोट गरी बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको थियो ।
च्याङ्ग्रा बुकिङका लागि प्रतिगोटाको ५ हजार रुपैयाँ र खसीबोकाका लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क तोकिएको थियो । यससँगै बुकिङ सुरु हुन थालेपनि सरकारले बिचमै सामाजिक सञ्जाल बन्द गराएपछि सामाजिक सञ्जालमा निर्भर आफूहरूको बुकिङ सेवा पनि प्रभावित भएको खाद्यको भनाइ छ ।



